आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

म्याद गुज्रेका खाद्यवस्तु ‘रिलेबल’ गर्ने बोथरा र बयलकोटीलाई एक वर्ष कैद, ३ लाख जरिवाना

काठमाडौं : म्याद गुज्रेका खाद्यवस्तु रिलेबल गर्ने भारतीय नागरिक रोनक बोथरा र शंकर बयलकोटीलाई वाणिज्य विभागले कारबाहीको फैसला गरेको छ । झण्डै डेढ महिनापछि विभागले बोथरा र बयलकोटीको मुद्दामा सजाय सुनाएको हो । उपभोक्ता संरक्षण ऐनले दिएको अधिकार प्रयोग गर्दै वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले दुवैलाई एक वर्ष कैद र ३ लाख रुपैँया जरिवाना गर्ने फैसला गरेका छन् ।

कलंकीस्थित गणेशमान कलेज नजिकै रहेको आयान डिस्ट्रीब्यूटर्सको गोदामबाट रिलेबल गरिएका र लेबल लगाउन जम्मा गरिएका २ करोड ९४ लाख रुपैँया बराबरका खाद्यवस्तु स्थानीय प्रहरी र जनप्रतिनिधिको रोहबरमा नष्ट गर्ने निर्णय गरिएको सुवेदीले बताए ।

उपभोक्ता संरक्षण ऐनले महानिर्देशकको तहबाट गर्नसक्ने अधिकतम कारबाहीको फैसला भएको छ । महानिर्देशकले अदालतमा लगेर मुद्दा चलाउन सक्ने प्रावधान पनि उक्त कानुनमा छ । अदालतले भने अपराधको गम्भीरताका आधारमा अधिकतम दुई वर्ष कैद र ६ लाख रुपैँयासम्म जरिवाना गर्न सक्ने प्रावधान छ ।

विभागको फैसला चित्त नबुझे विपक्षीले अदालतमा पुनरावदेन गर्न सक्ने व्यवस्था छ । उपभोक्ता स्वास्थ्यसँग सम्बन्धित संवेदनशील मुद्दा भएकाले विभागले यसको अनुसन्धानलाई तीव्रता दिएको थियो । ‘विभागका निरिक्षण अधिकृतले यो मुद्दामा लेबल मेटाउन प्रयोग हुने सामग्री, रिलेबलिङ हुँदै गरेको भिडियो सामग्री लगायत यथेष्ठ प्रमाणहरु संकलन गरेका छन्,’ सुवेदीले भने, ‘सोही आधारमा  उपभोक्ता स्वास्थ्यसँग संवेदनशील मुद्दा भएकोले विभागले उनीहरुलाई अधिकतम कारबाही गरेको हो ।’

असोज १५ मा विभाग र प्रहरी सहितको बजार अनुगमन टोलीले उक्त गोदाममा छापा मारी सामग्रीहरु सिल गर्नुका साथै बोथरा र बयलकोटीलाई पक्राउ गरेको थियो । भारत राजस्थान विकानियर घर भएका बोथरा र धादिङ गल्छी गाउँपालिका–३ घर भई कुलेश्वर बस्ने शंकर बयलकोटी पक्राउ परेयता हिरासतमा थिए ।