कोसीको बहाव खतरातिर, बेलकाका थप बस्ती डुबानमा

विराटनगर- सप्तकोसी नदीको जल स्तर अस्वभाविक रुपमा माथि आएपछि बाढी प्रभावित बेलका नगरपालिकाका विभिन्न वडामा डुबान बढेको छ । गत बुधबार विहान ४ बजे बेलका-८ डुम्रिबोटेबाट पश्चिमी तटबन्ध फुटाएर बेलका नगरपालिकाको बस्तीमा पसेको सप्तकोसीको बहाव शनिबार झन बढेकोले थप बस्तीहरु डुबानमा परेका हुन् ।
बस्तीमा बाढीको पानी पसेपछि सुरक्षित स्थानको खोजीमा वडा नम्बर २ स्थित शान्ति नगर पुगेका स्थानीयहरु त्यहाँ समेत डुबान हुन थालेपछि थप उद्धारको पर्खाइमा छन् । उनीहरुले सुरक्षित स्थान भनेर घरका सरसामान राखेको शान्ति नगरमा डुबान भइरहेको स्थानीय जानकारी दिए ।
डुम्रिबोटेस्थित पश्चिमी तटबन्ध कटान गरी बेलकातर्फ पसेको कोसीमा अहिलेसम्मकै धेरै पानी बगेको जनाइएको छ । जसका कारण तल्लो तटीय क्षेत्रमा पानीको सतह बढेर थप बस्तीहरु डुबाउन थालेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् ।
वडा नम्बर ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले कोसी फुटेको स्थानबाट अहिलेसम्मकै धेरै पानी पसेका कारण डुबान बढेको बताए । उनले अहिलेसम्म पानी नपसेको वडा नम्बर २ को बुधबारे हटिया र शान्ति नगर टोलमा डुबान हुन थालेको बताए ।
‘फुटेको ठाउँबाट पानीको झन धेरै आएको छ, वडा नम्बर ३ र २ को सिमानामा पर्ने बुधबारे हटियामा डुबान हुन थालेको छ,’ उनले भने, ‘स्थानीयले तत्कालै बस्ती छाड्नका लागि आग्रह गरिएको छ, चारवटा डुंंगाबाट उनीहरुको उद्धार भइरहेको छ ।’
उनले वडा नम्बरको एकता टोल, एबिसी टप्पु र सिर्जना टोलबाट समेत मान्छेहरु विस्थापित भइरहेको जानकारी दिए । वडाध्यक्ष आचार्यले बाढी प्रभावित क्षेत्रमा समेत भारी वर्षा भइरहेकोले उद्धारमा कठिनाइ भइरहेको बताए ।
डुबान बढि रहेपनि घरमा रहेका चौपाया र पशुपंक्षी जोगाउन भन्दै पुरुष व्यक्तिहरुले भने घर छाड्न मानेका छैनन् । जसका कारण उद्धारमा समस्या भइरहेको उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । उनीहरुलाई सम्झाएर सुरक्षित स्थानमा लैजाने प्रयास भइरहेको जानकारी दिए ।
बाढी पछिको डुबानका कारण उदयपुरको बेलका नगरपालिका-८, ३, ९, २ र १ का २० हजार र सुनसरीको सप्तकोसी नगरपालिका-६ र ९ का करिब ५ हजार व्यक्तिहरु प्रभावित भएका छन् ।
कोसीमा पानीको बहाव खतराको तहमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार बेलुकासम्म सुनसरीको चतरास्थित जल सतह मापन केन्द्रमा कोसीको बहाव ७ मिटर माथि मापन भएको छ । विभागका अनुसार कोसीमा पानीको सतह ६ मिटरसम्म पुग्दा सतर्कताको तह र ७ मिटर पुगेपछि खतराको तहमा प्रवेश गरेको मानिन्छ ।
कोसीमा मिसिने मुख्य बहाव भएका नदीका क्षेत्रहरुमा पानी पर्न रोकिएको छैन । जसका कारण सप्तकोसीमा पानीको सतह बढेर खतराको तहमा आइपुगेको जनाइएको छ । कोसीमा पानीको सतह बढेपछि सुनसरी र सप्तरी प्रशासनले समेत तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
कोसीको जल स्तरमा अस्वभाविक वृद्धि भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । जोखिम बढेकाले उद्धारका लागि स्रोत साधन तयारी अवस्थामा राखिएको जानकारी दिए । कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ५० हजार क्युसेक नजिक पुगेकाले खतरा बढेको जनाइएको छ । बहाव बढेका कारण शनिबार बेलुका ५२ मध्ये ३२ वटा ढोका खुल्ला रहेको सुनसरी प्रशासनले जनाएको छ ।

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया