शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

लमजुङमा एक वर्षमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु

लमजुङ - लमजुङमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर १७  जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७८/०७९ मा जिल्लामा विभिन्न स्थानमा भएको २२ सवारी दुर्घटनामा परि १७ जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा भएका सवारी दुर्घटनामा ८ जना गम्भीर घाईते र १७ जना समान्य घाइते भएका थिए । 

गएको आर्थिक वर्षमा दुर्घटनामा परेका सवारीमध्ये सवै भन्दा धेरै मोटरसाइकल रहेका छन् ।  सो अवधिमा जिल्लामा १० वटा  ट्याक्टर दुर्घटनामा परेका थिए । 

यस्तै, अन्य सवारी साधनहरुमा ट्रयाक्टर ६ वटा, ट्रक र जिप दुई/दुई वटा,  बस र अन्य सवारी साधान एक /एक वटा दुर्घटना भएको ट्राफिक कार्यालयका प्रहरी सहायक हवल्दार सुभाष रानाभाटले बताए  ।  


सवारी दुर्घटनासम्बन्धी कार्यालयको तथ्यांकअनुसार ४ वर्षमा गत वर्ष सवैभन्दा धेरै सवारी दुर्घटनामा परि मानिसले ज्यान गुमाएका छन् । जिल्लामा आर्थिक वर्ष ०७५÷०७६ मा १४ सवारी दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको थियो । 

आर्थिक वर्ष ०७६/०७७ मा जिल्लामा १३ सवारी दुर्घटनाहरु भएका थिए । ती दुर्घटनामा परेर ८ जनाको ज्यान गएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा २१ सवारी दुर्घटनाहरु भएका थिए भने ति दुर्घटनामा परि ११ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांक छ । 


तीन वर्षको अवधिलाई तुलना गर्दा सवारी दुर्घटनाको संख्या र दुर्घटनाबाट हुने मृत्युदरसमेत बढेको कार्यालयको तथ्यांकले देखाएको छ । हालसम्मको दुर्घटनाको प्रकृति हेर्दा सवारी दुर्घटनाको मुख्य कारण चालक सवेंदनशील नहुनु र तीब्र गति प्रमुख रहेको प्रहरी सहायक निरीक्षक  राजाराम पौडेलले भनाई छ ।