बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्‍चालनमा आउने

काठमाडौंँ- रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाउ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामि माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।  हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माग १ गतेदेखि सञ्चालनमा आउने बताएका हुन् । 

करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरू निर्माण हुनेछन् ।  
“केबलकारको तल्लो स्टेशनसम्म पुग्ने करिब ४०० मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भएको छ । तल्लो स्टेसनको सव–इस्टक्चरको निर्माण कार्य करिव सम्पन्न भइ सुपर स्ट्रक्चर कार्य र साइट डेभलपमेन्टको काम अगाडी बढिरहेको छ । नौ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडी बढिरहेको छ,” उनले भने ।
साथै, ढकालले माथिल्लो स्टेशनमा सव–इस्टक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरूको आयात गर्ने काम अगाडि बढेको बताए । 
त्यसैगरी, माथिल्लो स्टेशनमा रहेको मन्दिरक्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँग–सँगै सम्पन्न गर्नुपर्ने भएकोले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्त बमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको बताएका छन् । 

ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तराष्ट्रिय चेन–होटलसँग आबद्ध गराउन अन्तराष्ट्रिय परामर्शदाताहरूसँग छलफल भइरहेको जानकारी समेत गराएका थिए । केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।