बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

सरकारलाई संसदीय समितिकाे निर्देशन : चिनी मिलको समस्या तत्काल समाधान गर्नू

फाइल तस्बिर

काठमाडौँ- संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । सम्बन्धित मजदुर, ऊखु किसान र चिनी मिलका प्रतिनिधिसमेत राखेर सम्बन्धित मन्त्रालयसँग समन्वय गरी चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

उनले भने,  ‘नेपाल सरकार उद्योग मन्त्रालयलाई समितिको आजको बैठकले चिनी मिलको समस्याको सम्बन्धमा सम्बन्धित मजदुर, किसान र चिनी मिलका प्रतिनिधि समेत राखेर सम्बन्धित मन्त्रालयसँग समन्वय गरी आवश्यक छलफल गरी यो समस्या समाधान गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिने निर्णय गर्दछौं ।’

बैठकमा समितिका सदस्यहरुले चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई दबाव दिएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद सरिताकुमारी गिरीले चिनी मिलमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाइन् । उनले ऊखुको मूल्य निर्धारण गर्दा सरकारले ऊखु किसानको प्रतिनिधित्व नगराएकोमा पनि आपत्ति जनाइन् ।

समितिका अर्का सदस्य लालप्रसाद साँवा लिम्बुले पनि चिनी मिल बन्द हुन नदिन सरकार गम्भीर हुनुपर्ने बताएका थिए ।