कुर्था-जयनगर रेल चलाउन कानुनले रोक्यो

काठमाडौँ : कुर्था-जयनगर रेलमार्गमा अरु सबै किसिमका तयारी पूरा भए पनि कानूनको अभावका कारण सो रेल सेवा शुरु हुन सकेको छैन । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो रेलमार्ग गत आर्थिक वर्षमा नै सम्पन्न भएको थियो । सो खण्डमा सञ्चालनका लागि सरकारले खरिद गरेको रेल छ महिना पहिले आइपुगेको थियो । रेल आएपछि सञ्चालनका लागि आवश्यक जनशक्ति र अरु प्राविधिक तयारी गरिएको नेपाल रेल्बे कम्पनी प्रालिका महानिर्देशक गुरु भट्टराईले बताए । उनले भने, “कानून बनेपछि तुरुन्त नै रेल चलाउन सकिनेछ ।”
आवश्यक जनशक्ति र इञ्जिन ल्याउनका लागि भारत सरकारसँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ । कानून नआउँदासम्म इञ्जिन ल्याउन नमिल्ने भएकाले ल्याउन नसकिएको उहाँले जानकारी दिए । रेलमार्गमा आवश्यक कतिपय जनशक्ति भारतबाट ल्याउनुपर्नेमा भारतीयसँग सम्झौता भइसकेको छ । उनले भने, “उनीहरु आउन तयार छन्, हामीले चाहिने भएपछि तत्काल ल्याउन सकिन्छ ।”
सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरिसकेको छ । भारतीय कम्पनी कोनकोन कम्पनीबाट रेल सेट खरिद गरिएको थियो । कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ । त्यसमा पाइलट, स्टेशन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायतका रहने कम्पनीले जनाएको छ । नेपाली कर्मचारी र अरु प्राविधिक तयारी अवस्थामा रहेको महानिर्देशक भट्टराईले बताए । रेल र कम्पनीका सामग्री सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीको हुने बताइएको छ ।
रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने गरी छलफल भइरहेको कम्पनीले जनाएको छ । भाडादर र टिकटको विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले बताए । भाडादरका विषयमा कम्पनीले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । बसलगायतका अरु सवारीसाधनको भाडादरमा चलाउन तयारी गरिएको उनले बताए । सामान्य सिटमा ३५ किमी रेलमार्ग यात्रा गर्न रु ७५ भाडादर तोकिएको छ । उनले भने, “डिलक्सको भाडा सामान्यभन्दा चारपाँच गुणा बढी हुनेछ ।”
कम्पनीले रेलमार्गमा काम गर्नै जनशक्तिलाई दुई साताको तालीम दिइने महाप्रबन्धक भट्टराईले बताए । उनका अनुसार रेलको महत्व बुझाएर कुनकुन सामग्रीको सुरक्षा आवश्यक छ भनी बुझाउनुपर्छ । अहिले कामदार छनोटमा पहिले काम गरेकालाई प्राथमिकता दिइएको छ ।
तत्काल काम शुरु गर्न ती व्यक्तिलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । अहिले पनि सवारी साधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । सरकारले उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना लिएको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्ग सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।
नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलमार्ग पुनः शुरु गर्न लागिएको हो । कूल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि विजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । विजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ । रासस

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया