सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

सामाजिक सुरक्षा भत्ता बाँड्दा १२ लाख हिनामिना गर्ने कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं : एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गर्ने दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले मुद्दा दायर गरेको छ । महोत्तरीको साविक सिंग्याही गाविसका तत्कालीन सचिव विनोद कुमार सिंह र कार्यालय सहायक नारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । 
उनीहरूले सामाजिक सुरक्षा भत्ता वितरणमा १२ लाख ४४ हजार रुपैयाँ हिनामिना गरेको पूष्टी भएको छ ।
 
हिनामिना भएको रकममध्ये ६ लाख १५ हजार रुपैयाँ बैंक दाखिला भइसकेको आयोगले जानकारी दिएको छ । यो रकम कटाइ बाँकी हुन आउने बिगो रकम ६ लाख २९ हजार रुपैयाँ असुल उपर हुन मागदाबी लिई मुद्दा दायर गरिएको आयोगले बताएको छ ।