बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढ्यो : गगन थापा

फाइल फोटो

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताएका छन् । 

मंगलवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर यो पटक कालोसूचीमा पर्नसक्ने अवस्था रहेको बताएका हुन् । 

उनले नेपाललाई सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न नदिन सरकारले केके काम गरिरहेको छ त्यसबारेमा संसदलाई जानकारी गराउनुपर्ने माग गरे । थापाले सम्पत्ति शुद्धीकरण सम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसदमा जानकारी गराउनु पनि माग गरे । 

उनले नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी पर्याप्त कानुन नबनिसकेको, बनेको कानुनको पनि प्रभावकारी रुपमा कार्यान्वयन नभएको, व्यापक कर छली, बढ्दो भ्रष्टाचार र अपराधिकरणको कारणले गर्दा हाम्रो समष्टिगत मूल्यांकन अति जोखिमपूर्ण अवस्थामा भएको विज्ञहरुले बताइरहेका पनि बताए ।

थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा परेमा विप्रेषण र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने र एलसी खोल्न नपाइने दाबी गरे ।