सन्दीपको व्यक्तिगत सफलता = नेपाली क्रिकेटको असफलता ?

काठमाडौँ – सन् २०१६ मा बंगलादेशमा भएको आईसीसी यू-१९ क्रिकेट विश्वकपदेखि राष्ट्रिय क्रिकेट टिमको आगमन, सन् २०१६ को हङकङ टी-ट्वान्टी ब्लिजदेखि इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, क्यारेवियन प्रिमियर लिग, ग्लोबल टी-ट्वान्टी क्यानाडा, बंगलादेश प्रिमियर लिग, टी-ट्वान्टी ब्लास्टसहित अन्य देशका फ्रेन्चाइज्ड लिगहरु । तथा ती लिगहरुबाट भएको करोडौँ आम्दानी ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा कप्तान सन्दीप लामिछानेका लागि यति परिचय पनि पर्याप्त छैन । सन्दीपले नेपाली क्रिकेट टिममा गरेको प्रदर्शन, योगदान तथा टिम तथा व्यक्तिगतरुपमा आर्जन गरेका अनेकौं कीर्तिमानहरु केवल नेपाली क्रिकेट मात्र नभएर अन्य जुनसुकै विधाका खेलाडीहरुका लागि त्यति सजिलै प्राप्त हुने कुरा होइनन् ।
लेग स्पिनर सन्दीपले पाएको सफलतालाई हेर्दा चमत्कार नभए अहिलेको अवस्थामा अन्य जो कोहीले सजिलै पाउने देखिँदैन । राष्ट्रिय टिम तथा विदेशी लिगहरुमा गरेको व्यक्तिगत प्रदर्शन एक ठाउँमा छ, तर सन्दीपले नेपाली टिमको कप्तानीको जिम्मेवारी पाएपछि टिमको प्रदर्शन भने सन्तोषजनक छैन ।
नेपाल क्रिकेट संघ (क्यान) ले गत डिसेम्बरमा सन्दीपलाई नेपाली राष्ट्रिय टिमको कमान्ड दिएको थियो । सन्दीपको कप्तानीमा नेपाली टोलीले सबैभन्दा महत्वपूर्ण मानिएको ओमानमा आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप खेल्यो ।
फेब्रुअरी १८ देखि २४ सम्म चलेको छनोटको महत्वपूर्ण खेल अर्थात् सेमिफाइनलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सँग पराजित भएसँगै नेपाल यसै वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी-ट्वान्टी विश्वकप खेल्नबाट वञ्चित भयो । सन्दीपबाट नेपाललाई विश्वकपसम्म पुर्याउने अपेक्षा पूरा भएन । व्यक्तिगत रुपमा भने सन्दीपले उक्त प्रतियोगिताकै सर्वाधिक १२ विकेट हात पारेका थिए ।
तर विश्वकप छनोट अघि नेपाली क्रिकेटले कैयन् उतारचढाव भोगिसकेको थियो । क्रिकेटरको वर्गीकरणलाई लिएर तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले क्यानविरुद्ध सार्वजनिक रुपमा बोलेको विषय तथा सोही विषयमा ती चारैजना खेलाडीलाई अनुशासनको कारबाही गरिएको थियो । त्यतिबेला नै नेपाली क्रिकेटमा गुटबन्दी रहेको छताछुल्ल भएको थियो ।
अन्य विषयमा क्यान लचिलो हुँदा ज्ञानेन्द्रको कप्तानी तथा दीपेन्द्रको उपकप्तानी पद खोस्ने कारबाही यथावत् रह्यो । ज्ञानेन्द्रको कप्तानी खोसेर क्यानले उक्त पद सन्दीपलाई सुम्पेको थियो र त्यस लगत्तै सन्दीपको नेतृत्वमा नेपाल विश्वकप छनोटका लागि ओमान पुगेको थियो । नतिजा- नेपाल विश्वकप पुग्न असफल भयो ।
उक्त असफलताको पछाडिको एउटा कारणमध्ये खेलाडीबीचको गुटबन्दी रहेको नेपाली टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले प्रष्ट पारिसकेका छन् । गत बुधबार अर्थात् जुलाई २० मा नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएलगतै इएसपीएन क्रिकइन्फोसँगको कुराकानीमा पुबुदुले दोस्रो कार्यकालका लागि आउँदा नेपाली टिममा साना साना समूह देखेको खुलासा गरेका थिए ।
पुबुदुले पहिलेभन्दा अहिलेको नेपाली क्रिकेटको माहोल एकदमै फरक देखेको तथा खेलाडीहरुको सोचाइ नै फरक रहेको बताए । पुबुदुले टी-ट्वान्टी विश्वकपका लागि ओमान भ्रमणमा जाँदा नेपाली टिममा गुटबन्दी रहेको तथा टिमभित्रको विवाद मध्यविन्दुमा रहेको पनि खुलासा गरेका थिए ।
टी-ट्वान्टी विश्वकप छनोटपछि सन्दीपको कप्तानीका लागि अर्को चुनौती भनेको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्नु हो । तर लिग-२ मा पनि सन्दीपले कप्तानको रुपमा निराशा मात्रै हात पारिरहेका छन् ।
सन्दीपका लागि लिग-२ अन्तर्गत नेपाललाई शीर्ष तीनमा उभ्याउनु चुनौतीको रुपमा रहेको छ । किनभने शीर्ष तीनमा रहने टोली २०२३ को आईसीसी पुरुष विश्वकपका लागि हुने छनोटमा स्थान बनाउन सफल हुनेछ ।
त्यतिमात्र नभएर शीर्ष तीनमा रहने टोलीसँगै चौथो र पाँचौं स्थान हात पार्ने टोलीले अर्को चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासमेत कायम राख्नेछ । जबकि पुछारका ४ टिमले विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्ने आईसीसीले जनाएको छ ।
तर सन्दीपको कप्तानीमा लिग-२ मा नेपालले लगातार निराशाजनक प्रदर्शन गरिरहेको छ । उनको कप्तानीमा नेपालले लिग-२ का १२ खेल खेलिसकेको छ । केवल ४ खेलमा मात्र जित हात पार्दा ७ खेलमा पराजय भोगेको छ । एक खेल ‘टाइ’ भएको छ । व्यक्तिगतरुपमा भने सन्दीपले भने १२ खेलमा २६ विकेट लिएका छन् ।
पछिल्लो समय नेपालले लिग-२ को सिरिजका लागि स्कटल्यान्डको भ्रमण गरेको थियो । स्कटल्यान्ड भ्रमणअघि नेपाली टिम क्यानाडा भ्रमणमै हुँदा सन्दीपले शून्य सहयोग प्राप्त भएको तथा लडाई एक्लैले लड्नुपर्ने आसयको ट्वीट गरेका थिए । नतिजा, स्कटल्यान्डमा पनि नेपाली टिमले निराशा नै हात पार्यो ।
प्रशिक्षक पुबुदुले भने नेपाली टिमभित्र देखिएको गुटबन्दी एकपछि अर्को सिरिजबाट अन्त्य भएको दाबी गरे पनि सन्दीपको भनाइ तथा टिमको नतिजाले त्यसलाई पुष्टि गर्दैन ।
तर पुबुदु र सन्दीपको भनाइलाई तुलना गर्ने हो भने सन्दीपले सबै खेलाडीहरुबाट साथ र सहयोग नपाउने गरेको छर्लङ्ग भएको छ ।
खासमा सन्दीपले विश्वव्यापीरुपमा पाएको सफलता तथा चर्चासँगै तत्कालीन टिमका सिनियर खेलाडीहरुले नै उनीविरुद्ध षड्यन्त्र गरेको चर्चा बारम्बार चलिरहन्छ र कप्तान भइसकेपछि सन्दीपले त्यसको बदला लिन खोजेको पनि विश्लेषण गर्ने गरिन्छ ।
सन्दीप नेपालका ग्लोबल क्रिकेट स्टार हुन् । यसलाई सन्दीपले हलुका रुपमा नलिएको र बाँकी सदस्यले गह्रुँगो रुपमा नलिएका कारण सन्दीप र बाँकी सदस्यबीच अघोषित शीतयुद्ध चलिरहेको विश्लेषक बताउँछन् । योबाहेक ज्ञानेन्द्रसहित चार सदस्यले जायज माग राखेर क्यानसँग खेलेको पौंठाजोरीमा खेलेर कप्तान बनेको पनि धेरै सदस्यले हृदयत: स्वीकार गर्न सकेका छैनन् । यसले बाँकी सदस्यले पारस वा ज्ञानेन्द्रको कप्तानीमा जति जिम्मेवारीका साथ खेल्थे त्यही जिम्मेवारीका साथ सन्दीपको कप्तानीमा नखेलेको पनि धेरैको आँकलन छ ।
बेलाबखत सन्दीप र अरु खेलाडीबीच हुने ‘ट्वीट वार’ ले पनि यसलाई पुष्टि गर्न मद्दत गर्छ । तर यसले न सन्दीपलाई फाइदा गरेको छ न नेपाली क्रिकेटलाई । यसले क्रिकेट शुभचिन्तकमा स्वाभाविक रुपमा प्रश्न उब्जेको छ, कतै सन्दीपको व्यक्तिगत सफलता नेपाली क्रिकेटको असफलताको कारण त बनिरहेको छैन ?
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया