शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

अमेरिकाको नर्थ क्यारोलाइनामा बस्ताकोटीको 'विसंगत बस्ती' विमोचन

काठमाडौँ- संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना स्थित केरी शहरमा भानु जयन्तीको अवसर पारेर आयोजित साहित्यिक कार्यक्रममा डा ऋषि बस्ताकोटीद्वारा लिखित मुक्तक संग्रह 'विसंगत बस्ती' को  विमोचन गरिएकाे छ ।

 नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरू ईइश्वर देवकोटा, डा नारायण राजभण्डारी, नगेन्द्र न्यौपाने, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष नम्रता गुरागाई, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष आर पी पौडेल र मुक्तककार बस्ताकोटी स्वयंले सामूहिक रुपमा पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रममा ईइश्वर देवकोटाले मुक्तककारको परिचय प्रस्तुत गर्दै बस्ताकोटीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गरेका थिए । यस्तै साहित्यकार नम्रता गुरागाईंले विमोचित पुस्तकको समीक्षा गरेकी थिइन् ।

डा अच्युत शर्मा र कल्पना घिमिरेले मुक्तककारलाई  शुभकामना व्यक्त गर्दै संग्रहभित्रबाट छानिएका मुक्तकहरु वाचन गरेका थिए । डा ऋषि बस्ताकोटीको दोस्रो साहित्यिक कृति 'विसंगत बस्ती' बिएन पुस्तक संसारले हालै बजारमा ल्याएको हो ।