जहाँ अर्गानिक र रैथाने उत्पादनको मूल्य छैन

मुगु- छायानाथ रारा नगरपालिका-३ की रामदेवी बुढा हरेक दिन साँझबिहान मुगु सदरमुकाम गमगढी बजारमा हरिया सागसब्जी र ताजा तरकारी बेच्न आइपुग्छिन् । आफैले उत्पादन गरेको रैथाने र अर्गानिक तरकारी उनी हिउँद बर्खा सधैभरि यसरी नै बेच्छिन् । बिहान साँझ तरकारी बेच्न बजार आए पनि दिउँसाेभर खेतिपातीमै हुन्छिन् ।
अन्य परम्परागत खेतीभन्दा तरकारीमा आम्दानी राम्रो देखेर उनी बिस्तारै यतातिर आकर्षित भएकी हुन् । रैथाने तरकारी जोगाउन र अर्गानिक खेतीमा जोड दिए पनि बजारमा भने यस्ता उत्पादनको मूल्य नपाउँदा उनी दिक्क मान्छिन् । उनी भन्छिन्, ‘लगानी अनुसार मूल्य नपाउँदा मन खिन्न हुन्छ ।’
उनका अनुसार तरकारी खेतीमा कहिल्यै पनि रासायनिक मल हाल्ने गरेको छैन । उनी भन्छिन्, ‘आफ्नै खेतबारी बिगार्ने रासायनिक मल किन हाल्नु र ? हामी त सधै प्राङ्गारिक मल प्रयोग गर्छाैं । तर मिहिनेत धेरै उत्पादन कम हुन्छ । बजारले यो त देख्दैन ।’
रामदेवीका अनुसार मुगुमा अर्गानिक र रैथाने तरकारीको मूल्य नै छैन । यहाँका सर्वसाधारणले स्थानीय तरकारी फलफूल छाडेर आयातित तरकारी र फलफूललाई चर्को मूल्य तिर्ने गरेको उनी बताउँछिन् ।
मुगुलाई कर्णाली प्रदेशको अन्नबालीको भण्डार भनिन्छ । यहाँ उत्पादित रैथाने र अर्गानिक बाली निकै नै स्वस्थकर र स्वादिलो हुने प्रदेशभर विश्वास छ । परापूर्वकालदेखि नै यहाँका किसानले रैथाने अन्नबाली लगाउने र जोगाउँदै आएका छन् । तर, आफैले जोगाएर ल्याएको उत्पादन हेपिएकाेमा किसानहरू चिन्ता व्यक्त गर्छन ।
छायानाथ रारा नगरपालिका-३ कि कुसुमदेवी कार्की पनि रामदेवी जस्तै खेतीकिसानी गर्छिन् । उनको पनि रामदेवीको जस्तै प्रश्न छ- मुगुका अर्गानिक उत्पादनले किन मूल्य पाउँदैनन् ?
उनका अनुसार अब स्थानीय सरकारहरूले किसानको उत्पादन बिक्री र व्यवस्थापनमा जोड दिनुपर्छ । छायानाथ रारा नगरपालिकाले तरकारीलाई बजारीकरण र उचित व्यवस्थापनमा सघाउनु पर्छ । पालिकाले नै हाटबजार सञ्चालन गरेर कृषक र ग्राहकहरूलाई सहज बनाउन उनले माग गरिन् ।
मुगुका उत्पादनहरू विशेषगरी खुर्सानी, गोलभेँडा, प्याज, आलुलगायत तरकारी बिक्री नभएर कुहिने गरेका छन् । बिक्री नभएका कारण सदरमुकाम आएका किसानले त्यसै फाल्ने समेत गरेको बताए ।
छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख बिष्णुकुमार भाम मुगुमा हाटबजार सञ्चालनको तयारी भइरहेको बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि राजनीतिक दल र सम्बन्धित कार्यालयहरूसँग हाटबजार स्थापनाका लागि पहल, समन्वय, सहकार्य गर्न जोड दिएको बताए । न्युज कारखाना

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया