बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

स्थानीयवासीलाई सिक्लेस हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ- सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गरेको हो ।

आयोजनाबाट असर पर्ने कास्की जिल्लाको मादी गाउँपालिका- १, २ र ३ का बासिन्दाले आजदेखि यही साउन २० गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै माछापुच्छ्रे बैंकको मादी गाउँपालिका-१ मा रहेको कार्यालय, बैंक अफ काठमाडौँ, मुक्तिनाथ विकास बैंक र एनआइसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर नेपालले (केयरएनपी बिबी प्लस आइएस) रेटिङ दिएको छ ।