संसदको समयसीमाको परीक्षामा सांसदहरू नै अनुत्तीर्ण

काठमाडौँ - प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले समयको ख्याल गर्न नसक्दा आफ्ना भनाइलाई पूर्णता दिन सकेनन् । बिहीबारको प्रतिनिधि सभाको शुन्य समयमा पनि यस्तै माहोल देखियो ।
शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले समयको पाबन्दीमा रहेर विषयवस्तु प्रस्तुत गर्न नसक्दा आधा वाक्यमै भनाइ टुंग्याउनु प¥यो । सांसदहरुले धेरै विषयवस्तु राख्न त खोजे तर कुनैपनि विषयलाई पूरा गर्न सकेनन् ।
शुन्य समयमा बोल्ने नेकपा एमालेका सांसद महेश बस्नेत, एमालेकै सांसद रामवीर मानन्धर, नेपाली काँग्रेसका राजेन्द्र केसी लगायतका अन्य सांसदहरु समयमै आफ्ना कुरा संसदसमक्ष राख्नबाट चुके । शुन्य समयमा सभामुख अग्निप्रसाद सापकोटाले समयको किटान गरेर (हरेक सांसदलाई १ मिनेट) मात्र बोल्ने अवसर दिएका थिए ।
तर सांसदहरुको विषय, प्रस्तुत गर्ने शैली शुन्य समयमा तोकिएको समयसीमा भन्दा लामो थियो । जसकारण पनि उनीहरुले अपूरो वाक्य मात्रै बोल्न भ्याए । आधा विषयवस्तु बोल्दा नै उनीहरुको समय सकिएर माइकमा साउण्ड काटिएको थियो । संसदमा प्रभाव जमाएका सांसदहरु समेत संसदको शुन्य समयको परीक्षामा अनुत्तीर्ण रहे ।
बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्ने एमाले सांसद महेश बस्नेतले पूरा विषय बोल्न नपाउँदै एक मिनेटको समय सकिएको थियो । सांसद बस्नेतले लामो विषयमा एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी सरकार पक्षका सांसदहरुले खोजिरहेको भन्दै विषयवस्तुमा प्रस्तुत भए । उनले सरकार पक्षका सांसदहरु एम अधिकारी खोज्ने तर सरकार विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने, परिवार लाद्नमा व्यस्त रहेको आरोप लगाए ।
उनले नेता एस देउवा, माओवादी नेता पी दाहाल र नेतृ ए राणा देउवा खोजेर कारबाही गर्नुपर्ने होइन भन्दै प्रश्नसमेत गरे । सांसद बस्नेतले बजेटमा रातारात सेटिङ गरेर करका दरहरु हेरफेर गर्ने, सिसिटिभी फुटेजहरु मेटाउने, माओवादी नेता जे शर्माको खोजी गरेर कारबाही गर्नुपर्ने बताए । उनले अन्य धेरै अहिले बजारमा मल अभाव, विद्यालयमा पुस्तक अभाव, एमसीसी पास गर्ने परराष्ट्र मन्त्री, प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर कार्यकारी प्रधान न्यायाधीशलाई कारबाही गर्ने होइन र ? भन्दै प्रश्न गरे ।
उनले प्रहरी प्रशासनमा पार्टीगत अन्तरविरोध भएको बताए । यो भनिरहँदा समय सकिएको थियो । उनी समय सकिएर माइकमा साउण्ड नआएपछि मुसुक्क हाँस्दै आफ्नो आसनमा बसेका थिए ।
त्यस्तै शुन्य समयमा बोल्ने मायादेवी न्यौपानेले पनि बोल्दाबोल्दै समय सकिएको थियो । उनले भर्खरै उपसभामुखमा निर्वाचित पुष्पा भुसाललाई सफल कार्यकालको शुभकामना दिँदा नै एक मिनेटको समय सकिएको थियो । तर सांसद न्यौपानेले शुभकामनापछि मातृकाप्रसाद कोइराला र अर्का नेता भन्ने क्रममा नै समय सकियो । उनले यो वाक्यांश नै पूरा गर्न सकिनन् । उनी समय सकिएको समेत थाहा नपाएर सभामुख अग्निप्रसाद सापकोटाले अर्को सांसदलाई बोल्न दिँदा समेत आफ्ना कुरा राखिरहेको दृश्य देख्न सकिन्छ ।
लगत्तै बोल्ने सांसद मिना सुब्बाले पनि एक मिनेटको समयमा कुरा राख्न सकिनन् । उनले निर्वाचन आयोगले खरिद गरेका सामग्री प्रयोगविहीन भएको विषयमा संसदमा विषय उठान गरेकी थिइन् । सांसद सुब्बाले अघिल्लो निर्वाचनमा निर्वाचन आयोगले अर्बौं रुपैयाँ लगानी गरेर खरिद गरिएका मेसिन प्रयोगविहीन रहेको बताइन् । यत्तिकैमा उनको समय सकियो । उनले बालेको पछिल्लो वाक्य पूरा नभएको दृश्य र अडियो सुन्न र देख्न सकिन्छ ।
लगत्तै बोलेकी सांसद मैनाकुमारी भण्डारीले पनि एक मिनेटमा संसदमा कुरा राख्न सकिनन् । सांसद भण्डारीले गुल्मीका खोलामा आएको बाढीले घरजग्गा कटान गरेको विषय उठान गरेकी थिइन् । उनले त्यहाँका जनताले वर्षैपिच्छे भोग्नुपरेको समस्या समाधानको लागि पक्की पुल बनाइदिन सरकारसँग माग गरिन् । उनले सिंचाई मन्त्रीको ध्यानाकर्षण बोल्नु बाहेकका शब्द संसदमा रेकर्ड हुन सकेनन् । त्यत्तिकैमा उनको बोल्ने समय सकियो ।
त्यसपछि शुन्य समयमा बोल्ने नेपाली काँग्रेसका सांसद राजेन्द्र केसीले पनि समयको ख्याल गरेर विषय प्रस्तुत गर्न सकेनन् । उनले गत आर्थिक वर्षमा पुँजीगत खर्च ५७ प्रतिशत मात्रै भएको र त्यसमा ५० प्रतिशत भन्दा बढी असारे विकास भएको बताए । सांसद केसीले विकाश निर्माणको काम अत्यन्त लजास्पद रुपमा भइरहेको टिप्पणी गरे । उनले समयमा नै विकास खर्च नहुने भएकाले अर्थतन्त्रमा नकारात्मक असर परेको पनि बताए । सांसद केसीले भूकम्पको अवस्थामा पनि यस्तो अवस्था देखिएको थिएन भन्ने शब्द बोल्दै गर्दा माइकको आवाज काटियो । वाक्य पूरा गर्ने उहाँको चाहना पनि पूरा हुन सकेन ।
त्यसपछि बोल्ने सांसद राजेन्द्रप्रसाद गौतम पनि संसदको समयसीमाको परीक्षामा अनुत्तीर्ण भए । उनले असार २४ गते संखुवासभाको चैनपुर डुमकटामा भएको सडकमा ट्याक्टर दुर्घटनाको विषयमा बोलेका थिए । सांसद गौतमले दुर्घटनामा घाइतेहरुको उपचारको क्रममा मनकामना अस्पताल खाँदबारी भन्ने वाक्यांश पूर्ण गर्न नपाउँदै समय सकियो
त्यस्तै सांसद राधाकुमारी ज्ञवाली पनि शुन्य समयको समयमा फेल भइन् । उनले किसानहरुलाई सरकारले समयमा नै मल उपलब्ध गराउन नसक्नु नालायकीपन भएको बताइन् । सांसद ज्ञवालीले सरकारले मल उपलब्ध गराएर सहज बनाउन माग गरिन् । उनले सिंचाई नभएको कारण रोपेको धान समेत सुकेर किसानको नोक्सान भएको छ भन्न नपाउँदै समय सकिएको थियो ।
शुन्य समयमा बोलेका सांसद रामवीर मानन्धरको अवस्था पनि माथिका सांसदको भन्दा फरक थिएन । उनले श्रीमानहरुले बनाएको प्रचण्ड प्रतापी भूपतिको सरकारले एक वर्षमा कुनैपनि राम्रो काम नगरेको आरोप लगाए । उनले सरकारले गरेका कामको छानबिन गर्न धेरै संसदीय समिति बनेको तर काम नभएको भन्दै ती समितिलाई पनि छानबिन गर्ने संसदीय महासमिति गठन गर्नुपर्ने माग गरे । सांसद मानन्धरले गठन गरेकोे महासमितिले यस्तो निस्कर्ष निकालोस् भन्न नपाउँदै समय सकिएको थियो ।
त्यस्तै सांसद रेखा कुमारीले पनि संसदीय समयको सीमामा बोल्न असफल भइन् । उनले पनि आफ्नो सबै कुरा एक मिनेटको समयमा राख्न सकिनन् । यसरी बिहीबारको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्ने १० जना संसदहरूले एक मिनेटको समयमा आधा मात्रै कुरा राख्न पाए । सांसदहरु आवश्यक समयमा बोल्ने विषयवस्तु तय गर्न नसक्दा समय सीमामा धेरैपटक चुकेका छन् । यी आजको प्रतिनिधि सभाका प्रतिनिधिमूलक घटना मात्रै हुन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया