भेडापालक किसानले पाए गोठालो भत्ता

खलङ्गा- कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदान अन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाबाट जिल्लाका १४३ जना किसानले गोठालो भत्ता पाएका छन् ।
पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा २६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्डस्तरमै स्थलगत रिपोर्ट र मूल्याङ्कन गरेपछि मात्र सो भेडापालक किसानलाई गोठालो भत्ता प्रदान गरेको पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिए ।
प्रदेश सरकारले यहाँका भेडाको उत्पादन बढाउन यस्तो व्यवस्था गरेको हो । एक वर्षभरि भेडा हेर्न जाँदा आवश्यक सामान किन्न केही सहज होस् भन्ने उद्देश्य स्वरूप गोठालो भत्ता दिने गरिएको छ । भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम लागु गरिएको पशु सेवा कार्यालयका प्रमुख महतले बताए । पचासदेखि माथि भेडा पाल्ने किसानलाई मासिक रु एक हजार ५०० का दरले वार्षिक रु १८ हजार भत्ता दिइएको हो ।
यो कर्णाली प्रदेश सरकारले भेडाको उत्पादन बढाउन लागु गरेको नियमित कार्यक्रम हो । रकम सम्बन्धित किसानको बैंक खातामै जम्मा गरिएको छ । यो कार्यक्रमले किसानको रुचि भेडा पालनतर्फ बढ्ने अपेक्षा गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयमा २८४ किसानले आफ्नो फार्म सूचीकृत गराएको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।
सो कार्यक्रम माथिल्लो कर्णालीका जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पामा गरी पाँच जिल्ला प्रदेश सरकारले लागु गरेको छ ।

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया