शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

कर्णाली प्रदेशसभाको बैठक सत्ता पक्षबाटै बहिष्कार

सुर्खेत । कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको छब्बिसौं बैठक सत्तापक्षकै सांसदहरुले बहिष्कार गरेका छन् । सरकार आफूहरुको जिम्मेवारी र भावनालाई कुण्ठित गरी एकलौटी ढंगले अघि बढेको भन्दै नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले प्रदेशसभा बैठक बहिस्कार गरेका हुन् । 

मंगलबार बैठक सुरु भएलगत्तै माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले सभामुखसँग बोल्ने समय मागेका थिए । प्रदेशसभा सदस्य गोपाल शर्माले समय मागेर सरकार एकलौटी हिँडेको र प्रमुख सत्ता दल माओवादीलाई निषेध गर्न खोजिएको आरोप लगाए । यही अवस्थामा प्रदेशसभाका कुनै पनि काम–कारबाहीमा आफ्नो दल सहभागी हुन नसक्ने शर्माले बताए । 

‘सरकारले प्रमुख सत्ता साझेदार दल माओवादीलाई पूर्ण वेवास्ता गरेको छ’ उनले भने, ‘यो सरकारले माओवादीलाई लतारेर अघि बढ्न खोजेको छ ।’ सरकारकै कारण माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्वविहिन बनेको, शान्ति पूनस्र्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लागयतका महत्वपूर्ण विधेयक पनि सरकारका कारण प्रदेशसभाको कार्यसूचिमा पर्न नसकेको उनको गुनासो छ । 

कर्णालीमा कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको गठबन्धन सरकार छ । सरकारले परिवर्तनका लागि जीवन समर्पण गर्नेको स्मृतिमा सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको भन्दै सरकारले यसलाई कार्यान्वयन नगरेको बताए । सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले बैठक बहिस्कार गरेर बाहिरिएपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो ।