'बैंकले ३५ लाखमा बेचिदियाे २ कराेड बढी पर्ने जग्गा'
कराेडकाे सम्पत्ति भएकाे परिवार अहिले घरबारविहीन

महोत्तरी- बर्दिबास-८ की ६२ वर्षीया बालकुमारी दर्लामी मंगलबार हारगुहार गर्दै आफूहरूलाई घरबारविहीन हुनबाट बचाइदिन ज्योति विकास बैंकका शाखा व्यवस्थापक सुरज देवकोटालाई अनुरोध गरिरहेकी थिइन्। पुस्तौदेखि बर्दिवास-८ गिरिटोलमा बस्दै आएकी दर्लामीले छोराले बैंकको कर्जा तिर्न नसकेको र ऋणवापत राखेको घरघडेरीको धितो लिलामी भएको पत्र मंगलबार नै प्राप्त गरिन् ।
बालकुमारीकै नाममा रहेको जग्गा मुख्य ऋणी जेठा छोरा मीनबहादुर दर्लामीले निर्धारित समयमा चुक्ता गर्न नसकेपछि एक बिगाहा ११ कठ्ठा १८ धुर जग्गा लिलाम भएको चिठीमार्फत बैंकले जानकारी गराएको थियो । साे निर्णयले बालकुमारीसहित उनका तीन छोरा सडकमा आइपुगेका छन् । सोही जग्गाबाट पारिवारिक भरणपोषणको आधार बन्दै आएको बेला बैंकले कौडीको मूल्यमा अर्कैको नाममा पास गरेपछि बालकुमारीको ठूलो परिवारका सदस्य घरवारविहीन बनेका छन् ।
‘कमसेकम बैंकले समयमै जानकारी गराएको भए हामी पनि केही गर्थ्यौ होला,’ बालकुमारीका माइला छोरा हिरालाल दर्लामीले भने । उनले आफूहरूलाई जानकारी नै नगराइकन गुपचुप जग्गा लिलामी गर्नुमा गम्भीर षडयन्त्र भएको आरोप लगाए । `
बालकुमारीका जेठा छोरा मीनबहादुर दर्लामीले दुई वर्ष अगाडि सिन्धुलीमा होटल खोल्ने उद्देश्यले ज्योति विकास बैंकसँग ओडी र टर्म कर्जा गरेर ३५ लाख निकालेका थिए । २० लाख ओडी र १५ लाख टर्म कर्जा गरी मीनबहादुरले उक्त जग्गाको धितोवापत ३५ लाख पाएका थिए ।
‘समय-समयमा मैले ऋण तिर्दै आएकाे थिएँ । कोरोना माहामारी तथा विविध कारणले भनेजति किस्ता बुझाउन सकिएन तर जग्गा बेचेर भए पनि म उक्त कर्जा चुक्ता गर्नेतर्फ नै गृहकार्य गर्दै थिएँ,’ उनले भने ।
चलनचल्तीको मूल्यमा बेच्दा पनि उक्त जमिनको मूल्य दुई करोडभन्दा बढी हुन आउँछ तर बैंकले ३५ लाखमा हेटौडातिरका जग्गा व्यवसायी माधव आचार्यलाई सकारेको देखिएको छ । बैंकको प्रक्रियाअनुसार धितो लिलाम हुनुभन्दा अगाडि अंशियार तथा हकवालाहरूलाई जानकारी गराउनुपर्दछ । तर मीनबहादुरलाई पठाएको चिठीमा मिनमाया दर्लामी, हिरालाल दर्लामी, चोकबहादुर दर्लामी र बालकुमारी दर्लामीलाई बोधार्थ राखे पनि बैंकले कुनै माध्यमबाट जानकारी गराएको देखिएको छैन ।
सम्पत्ति लिलाम जस्तो विषयमा हकवालाहरूलाई थाहा नै नदिइकन बैंकले आफूखुसी धितोवापतको जग्गा किन लिलाम गर्यो भन्ने विषय रहस्यमय छ । कराेडौ मूल्य पर्ने उक्त जग्गा कौडीको मूल्यमा लिलाम गरेकोप्रति असन्तुष्टि जनाउँदै पीडित पक्षले बैंकको नियतमाथि नै प्रश्न उठाएकाे छ ।
जग्गा लिलाम भएपछि अहिले मीनबहादुरको भाइ-भाइमा पारिवारिक द्वन्द्व सुरु भएको छ । सम्पत्तिको नाममा रहेको सबै जग्गा बैंकले लिलाम गरेपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता थपिएको छ ।
मीनबहादुरको अहिले सिन्धुली कमलामाई-७ मा गढीदरबार थकाली भान्छा घर छ । सोही होटल चलाउन मीनबहादुरले बैंकसँग उक्त रकम लिएका थिए । बैंकले धितो लिलामका सम्बन्धमा १८ जेठ २०७९ मा सात दिने सूचना निकालेको र उक्त अवधिभित्र कर्जा भुक्तान गर्ने जानकारीसहितको चिठी गढीदरबार थकाली भान्छाघरलाई सम्बाेधन गर्दै पठाएको थियो ।
‘जानकारी प्राप्त हुनासाथ म बैंकमा आएर जग्गा बेच्ने गृहकार्य गरिरहेको छु, मान्छे पनि तयार छ्न्, मलाई केही समय दिनुस् भन्दा उहाँहरूले हुन्छ भनेर लिलाम पो गरिदिनु भएछ,’ मीनबहादुरले भने । चिठीको मितिअनुसार लिलामको प्रक्रियामा गएको जानकारी १८ जेठ २०७९ उल्लेख गरिएको छ, तर हकवालाहरूले ६ असार २०७९ मा उक्त चिठी प्राप्त गरेका छन् ।
बर्दिवासस्थित ज्योति विकास बैंकका व्यवस्थापक सुरज देवकोटाले भने लिलामी प्रक्रियाअनुसार नै भएको दाबी गरेका छ्न् । न्युज कारखाना

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_qCGb2glFaK_mkoo5nkyn56sjiwgyfl5yrr9i5vneu9qmhfcnawlw0bmordtkxssd0jxnodd.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

प्रतिक्रिया