शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

पाल्पा ‘पूर्ण खोप’ सुनिश्‍चितता घोषणा

रामपुर (पाल्पा)- पाल्पा जिल्लालाई ‘पूर्ण खोप’ सुनिश्‍चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै पालिकाले पूर्ण खोप सुनिश्‍चितता गरेसँगै बिहीबार पाल्पालाई खोप सुनिश्‍चितता घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्‍चितताका लागि ९५ प्रतिशत सूचाङ्क पूरा गर्नुपर्ने हुन्छ । जिल्लाका सबै स्थानीय तहले ९५ प्रतिशत सूचाङ्क पूरा गरेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्णरूपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्‍चितता घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले बताए ।

प्रमुख डा गिरीका अनुसार जिल्लाका तीन हजार ५८६ बालबालिकाले पूर्णरूपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्‍चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । यो अभियानमा १६ देखि २३ महिनासम्मका छुटेका बालबालिकाहरुकाे समेत खोजेर पूर्णरूपमा खोप सुनिश्‍चितता गरिएको छ ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ । यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिँदै आएकोमा यस वर्षदेखि टाइफाइडविरुद्धको खोप थप भएको हो ।

स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनका आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्‍चितता तथा दीगोपना घोषणा गरिएको जनाइएको छ । पाल्पालाई यसअघि २०७० फागुन १३ गते पूर्ण खोप सुनिश्‍चितता जिल्ला घोषणा गरिएको थियो । हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्‍चितता गर्नुपर्ने प्रावधान रहेको छ ।