सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

पत्रकार महासंघमा पनि पूर्व अध्यक्षहरू सक्रिय, ‘संस्थालाई सरकारको प्रतिच्छायाँ बन्न नदिऊँ’

काठमाडौँः पूर्व प्रधान न्यायाधीश, पूर्व प्रमुख  निर्वाचन आयुक्तहरू र पूर्व उपकुलपतिहरूपछि नेपाल पत्रकार महासंघमा पनि पूर्व अध्यक्षहरूले सक्रियता देखाएका छन् । महासंघको २६औं महाधिवेशनको बुधबार हुने निर्वाचन कार्यक्रमको पूर्व सन्ध्यामा महासंघका पूर्व अध्यक्षहरूले संयुक्त वक्तव्य जारी गरी पत्रकार महासंघलाई सरकारको प्रतिच्छायाँ तथा राजनीतिक दलको स्वार्थबाट जोगाउन आह्वान गरेका छन् । 

महासंघका पूर्व अध्यक्षहरू हरिहर विरही, किशोर नेपाल, डा. सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र धर्मेन्द्र झाले संयुक्त वक्तव्य जारी गरी समाजको निरन्तर लोकतान्त्रिकरण तथा वैचारिक दिशाबोध गर्न महासंघलाई सशक्त बनाइराख्न महासंघमा जुझारु र निष्ठावान नेतृत्व चयन जरुरी रहेको वक्तव्यमा उल्लेख छ ।

उनीहरूले प्रेस स्वतन्त्रताको संरक्षण, व्यवसायिक सुदृढीकरण आम पत्रकारको पेशागत र भौतिक सुरक्षा तथा विभिन्न माध्यमबाट निर्भिक पत्रकारितामार्फत् लोकतान्त्रिक प्रणालीको जीवन्तताको लागि पत्रकारको योगदान आम नागरिकको सरोकारको विषय भएको भन्दै अहिले पत्रकारिताका सम्बन्धमा भइरहेका विचारविमर्शको समेत उनीहरूले स्वागत गरेका छन् ।