मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

दिनदिनै नयाँ रेकर्ड बनाउँदै नेप्से परिसूचक २,६७४.४६ बिन्दूमा

काठमाडौँः यो साता नयाँ रेकर्ड बनाउँदै नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार २,६७४.४६ बिन्दूमा पुगेको छ । जलविद्युत् र होटल्स एण्ड टुरिजम समूहको परिसूचक सबैभन्दा उच्च क्रमशः ४.४६ र ५.६२ प्रतिशतले बढेका छन् । मंगलबार नेप्सेमा ट्रेडिङ समूह सबैभन्दा धेरै ९.४६ प्रतिशतले घटेको छ । साल्ट ट्रेडिङको सेयरमा ऋणात्मक सर्किट ब्रेक लागेको थियो । बोनस प्राप्त गरेपछि मंगलबार साल्ट ट्रेडिङको सेयरमा बिक्रीको चाप देखियो, जसले समग्र ट्रेडिङ समूहको परिसूचक नै ओरालो लागेको छ । 

मंगलबार बैंकिङ्ग, फाइनान्स, निर्जीवन बीमा कम्पनी, अन्य समूह र जीवन बीमा कम्पनी समूहको परिसूचक ओरालो लागेको छ भने जलविद्युत् र होटल्स एण्ड टुरिजम समूह सहित डेभलपमेन्ट ब्यांक, लघुवित्त, म्यानुफ्याक्चरिङ एण्ड प्रडक्सन, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूहका परिसूचक उकालो लागेका छन् । 

मंगलबार जलविद्युत् कम्पनीहरूको सेयर १० प्रतिशतले बढेको छ । चिलिमे हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, युनाइटेड आइडीआइ मार्दी हाइड्रापावरको सेयर कारोबारमा सर्किट ब्रेक लागेको हो । त्यस्तै चन्द्रागिरि हिल्सको सेयर मूल्य पनि १० प्रतिशतले बढेर २,३४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । मंगलबार नेप्सेमा २१३ कम्पनीको ७ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ मूल्यका १ करोड ६१ लाख आठ हजार ४ सय ९९ कित्ता सेयर ८१ हजार सात सय ५३ पटकको कारोबारबाट खरिद–बिक्री भएको छ ।