सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

भारत सरकारको लगानीमा उदयपुरमा विद्यालय भवन बन्दै

काठमाडौँ : उदयपुरको त्रियुगा नगरपालिका गाईघाटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन भारत सरकारको सहयोगमा बन्ने भएको छ । चार करोड करोड २९ लाख रुपैयाँ अनुदानमा भवन बन्ने भएको हो । भवन निर्माणका लागि भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दूतावासको विकास साझेदारी तथा पुननिर्माण प्रभागका प्रमुख, त्रियुगा नगरपालिकाका मेयर र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत अनुमानित चार करोड २९ लाखको लागतमा यस परियोजनालाई उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा अघि बढाइनेछ । 

भारत सरकारले सन् २००३ यता साविकको ‘साना विकास परियोजना’ र हालको ‘उच्च प्रभाव सामुदायिक परियोजना’ अन्तर्गत ५२० भन्दा धेरै परियोजना अघि बढाएकोमा नेपालका सातै वटा प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई, तथा अन्य सार्वजनिक सुविधाका क्षेत्रमा हालसम्म ४४८ वटा परियोजना सम्पन्न भइसकेका छन् । उदयपुर जिल्लामा निर्माण सम्पन्न भएका सात र निर्माणका विभिन्न चरणमा रहेका आठ गरी प्रदेश १ मा मात्रै ६५ वटा यस्ता परियोजना रहेका छन् । 

स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, सरसफाई तथा सार्वजनिक सुविधा, कनेक्टिभिटि, क्षमता अभिवृद्धि एवम् व्यवसायिक तालिम, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन आदि जस्ता नेपाल सरकारले पहिचान गरेको प्राथमिकताका क्षेत्रमा पुर्वाधारको विकासका प्रस्ताव र पाँच करोड लागतभन्दा कमका परियोजनाहरु ‘उच्च प्रभाव सामुदायिक परियोजना’ अन्तर्गत पर्दछन् । 

यस्ता परियोजनाहरुलाई ‘नेपाल-भारत मैत्री विकास साझेदारी’ कार्यक्रम अन्तर्गत लिइन्छ र परियोजना क्षेत्रका जनतालाई लाभ प्रदान गर्न यी परियोजनाहरुको कार्यान्वयन स्थानीय सरकारमार्फत गरिन्छ । झण्डै नौ अर्ब अनुदानमा भारतले २०७२ सालको भूकम्पले क्षति पु¥याएका नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ ।