प्राध्यापकले अल्छी गरेर पहिलेकै प्रश्नपत्र दिँदा प्रश्नपत्र हुबहु : त्रिवि

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताए ।
`प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्नेजस्ता समस्या देखिए`, उनले भने, `प्राध्यापकको अल्छीका कारणले प्रश्नपत्र दोहरिएको हो ।`
उहाँले त्रिविको परीक्षामा प्रश्नपत्र हुबहु सम्बन्धमा सम्बन्धित प्राध्यापकलाई कारबाही गरिएको बताए । त्रिविले प्रश्नपत्र हुबहुका सम्बन्धमा प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
सोही छानबिन समितिको सिफारिसमा तीन जना प्राध्यापकलाई कारबाही गरिएको उनले बताए । त्रिविमा मानविकी संकायले गत जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।
यस्तै व्यवस्थापन संकयको स्नातक तह बिबीए छैटौँं सेमेष्टरको यही असार २२ गते र असार २५ गतेको प्रश्नपत्र पनि हुबहु पाइएको छ । यस्तै मोर्डन नेपाल कलेजको तीन महिनाअघि सोधिएको प्रश्नपत्र असार २२ गतेको परीक्षामा र शंकरदेव क्याम्पसले लिएको प्रिबोर्ड परीक्षामा सोधिएको प्रश्नपत्र यही असार २५ गते बिबीएलाई सोधिएको थियो ।
`ती उपप्राध्यापकलाई प्रश्नपत्र बनाउन दिँदा उहाँले मोर्डन कलेजमा नै सोधिएको प्रश्नपत्र दिनुभयो`, उनले भने, `यसरी तीन महिनाअघि मोर्डन कलेजको आन्तरिक परीक्षामा सोधिएको प्रश्नपत्र त्रिविको परीक्षामा पनि सोधिएको पाइयो ।`
उनले समाजिक सञ्जालले गर्दा हुबहु प्रश्नपत्रबारे जानकारी प्राप्त भएको भन्दै अबदेखि हस्तलिखित प्रश्नपत्र माग्ने बताए । `प्राध्यापकले प्रश्नपत्र बनाउनुभन्दा अर्काको किताबबाट सार्ने गरेको पाइएको छ`, उनले भने, `अबदेखि हामी हस्तलिखित प्रश्नपत्र माग्ने छौँ ।`
त्रिविका उपकुलपति डा. बास्कोटाले प्रश्नपत्रका हुबहु सम्बन्धमा त्रिविले प्राडा भोजराज अर्यालको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको बताए ।
समितिमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हुबहु प्रश्नपत्रमा संलग्नलाई कारबाही गरिने बताए । `हुबहु प्रश्नपत्र अल्छीपनाले होइन, गल्ती गरेका हुन्”, उनले भने, `हुबहु प्रश्नपत्र बनाउनेलाई कारबाही गर्नुपर्दछ ।` रासस

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

प्रतिक्रिया