च्याम्पियन्स लिग : स्पेनमा कमजोर नदेखिने लक्ष्यमा लिभरपुल

काठमाडौँ : च्याम्पियन्स लिगमा एकपटक फेरि रियल म्याड्रिड र लिभरपुल भिड्दैछन् । यी दुई टिम सन् २०१८ को च्याम्पियन्स लिग फाइनलमा पनि आमनेसामने भएका थिए । यसपटक भने उनीहरूको भेट क्वार्टरफाइनलमा हुन लागेको हो ।
रियल र लिभरपुल गत सिजन आ-आफ्ना लिगमा च्याम्पियन बनेका थिए । यस सिजन भने अवस्था उस्तै छैन । ला लिगा उपाधि होडमा रियल एथलेटिको म्याड्रिड भन्दा पछी छ भने लिभरपुल इंग्लिस प्रिमियर लिग अंक तालिकाको छैठौँ स्थानमा छ । घरेल लिगमा अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहेको बेला दुबै टिमको नजर च्याम्पियन्स लिगमाथि छ ।
फेरि, रियल र लिभरपुलबीचको भिडन्त त्यसै पनि रोमाञ्चक हुने अपेक्षा गरिन्छ । लिभरपुलका लागि सन् २०१८ को फाइनलमा ब्यहोरेको पराजयको बदला लिने मौका छ । उता रियल भने लिभरपुललाई यसपटक पनि पराजित गर्दै आफू युरोपेली क्लब फुटबलको बलियो शक्ति भएको सन्देश दिन चाहन्छ ।
तीन वर्ष अगाडिको फाइनलमा लिभरपुलका गोलरक्षक लोरिस करियसले बिर्सनै नसकिने प्रकारको गल्ती गरेका थिए । मोहम्मद सलाह काँधको चोटका कारण मैदान छाड्न बाध्य भएपछि कमजोर बनेको लिभरपुल करियसको गल्तीले खेल गुमाउन बाध्य भएको थियो । च्याम्पियन्स फाइनलसँगै करियसको लिभरपुल करियरमा ब्रेक लाग्यो । सलाह भने लिभरपुललाई पुनः एकपटक च्याम्पियन्स लिग जिताउने लक्ष्यमा अघि बढिरहेका छन् ।
उसो त लिभरपुलले सन् २०१९ को च्याम्पियन्स लिग उपाधि उचाल्यो । त्यसको एक वर्षपछि योर्गेन क्लपको प्रशिक्षणमा लिभरपुलले इंग्लिस प्रिमियर लिग पनि जित्यो । ३० वर्षसम्म इंग्लिस च्याम्पियन बन्न नसकेको लिभरपुलका लागि गएको वर्ष महत्वपूर्ण साबित भयो ।
लगातार दुई वर्ष महत्वपूर्ण उपाधि जितेका लिभरपुलका लागि यो वर्ष भने सुखद रहन सकेको छैन । त्यसकारण पनि म्याड्रिडमा हुने च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा रियलको सामना गर्दा लिभरपुल आत्मविश्वासी हुने प्रयासमा रहनेछ ।
यस सिजन लिभरपुल आफ्नै मैदानमा पनि कमजोर देखिँदै आएको छ । करिब चार वर्ष एनफिल्डमा एकै खेल नहारेको लिभरपुलले यो सिजन सरासर चार खेलमा हार ब्यहोर्यो । लिभरपुलले यसअघि एनफिल्डमा लगातार छ खेलमा पराजय भोगेको थिएन । अनपेक्षित पराजय भोग्ने क्रम नरोकिएपछि लिभरपुलले यस पटक शीर्ष चारमा रही सिजन टुङ्गाउन संर्घषरत रहेको छ ।
त्यसो त लिभरपुल कमजोर बन्नुमा महत्वपूर्ण खेलाडीहरु घाइते हुनु पनि हो । भर्जिल भान डाइक र जो गोमज सिजनको सुरुवातबाटै मैदान बाहिर रहे भने कप्तान जोर्डन हेन्डरसन र जोएल माटिप पनि लामो समयका लागि उपलब्ध हुने छैनन् । उता थियागो अल्कन्ट्रा र डिएगो जोटाले चोटका कारण धेरै खेल गुमाउन बाध्य भए ।
यद्यपि पछिल्ला खेलहरूमा थियागो र जोटाको योगदान महत्वपूर्ण रह्यो । शनिबार आर्सनलसँगको खेलमा जोटाले गोल पनि गरे । त्यसअघि जोटाले उल्भ्स र आरबी लाइपजिगविरुद्ध पनि गोल गरेका थिए । जोटा रियलसँगको भेटमा पनि उही लयलाई कायम राख्ने धेयमा हुनेछन् । जोटा र थियागो बाहेक फाबिन्होको उपस्थितीले पनि लिभरपुललाई बलियो बनाउनेछ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया