शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

पछिल्लो राजनीति अवस्थाले देशलाई नै लज्जित बनायो : रविन्द्र मिश्र

काठमाडौँ : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । सोमबार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले अहिलेको राजनीति अत्यन्त निन्दनीय र लज्जास्पद भएको टिप्पणी गरे । 

अहिले भइरहेको गतिविधि देशको स्वाभिमानको हितविपरीत भएको पनि बताए । उनले भने ‘अहिलेको स्थितिमा पनि राजनीति जुन किसिमबाट अगाडि बढेको छ । त्यो अत्यन्त निन्दनीय, लज्जास्पद र देशको स्वाभिमान र राष्ट्रहितविपरीत छ ।’

संविधानले तय गरे अनुरुप सुसंस्कृत रूपमा देशको सरकार परिवर्तन हुनुपर्छ भन्नेमा आफ्नो पार्टी दृढ रहेको पनि बताए । तर अहिले जे भइराखेको छ त्यो संविधानविपरीत भइरहेको बताउँदै दलहरूले संविधानको सम्मान गर्न सक्नुपर्ने उनले बताए । त्यसबाट मात्रै सुसंस्कृत राजनीति स्थापित गर्न सकिने उनको भनाइ छ । 

अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७० वर्षदेखि नै धरमराइरहेको टिप्पणी समेत गरे  । नेपालको लोकतन्त्रलाई संस्थागत गर्न ७० वर्षदेखि प्रयास भइरहे पनि अहिले पनि धरमराइरहेको स्थितिमा लोकतन्त्र रहेको बताए । उनले भने ‘७० वर्षदेखि नेपालको राजनीतिमा निरन्तर देखिएको समस्या भनेको भ्रष्ट्राचार हो, असक्षमता हो, सुशासनको अभाव हो, दुरदर्शिताको अभाव हो ।  ७० वर्ष भइसक्यो नेपालमा लोकतन्त्रलाई संस्थागत गर्नको लागि प्रयास भइराखेको । अहिले पनि लोकतन्त्र धरमराएकै स्थितिमा हो । यो नेपाली राजनीतिको बिडम्बना हो । २० वर्षमा बिसौं सरकार बदलिनु तर आम नेपालीको अवस्था नबदलिनु सबैभन्दा दुःखद पक्ष हो ।’

उनले आफ्नो दलले देशभरका नागरिको सामाजिक जीवनको अधिकार, मर्यादाको अधिकार, शिक्षा स्वास्थ्यको अधिकार सुनिश्चित गर्न चाहेको पनि प्रष्ट पारे । यी विषयहरू सुनिश्चित नहुँदासम्म नेपालको राजनीति अस्थिर रहने उनले बताए । यस्तै देशभित्रै रोजगारी सिर्जना गर्नु चुनौतिपूर्ण विषय बनेको उनको भनाइ छ । वैदेशिक रोजगारीका लागि सम्झौता हुँदा हात मिलाएर खुसी मनाउने मन्त्री र राजनीतिक दलहरूबाट देशभित्रै रोजगारी सिर्जना गर्ने कुराको कल्पना समेत गर्न नसकिने बताए।