शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

लागूऔषध कारोबार गरेकाे आराेपमा पाँच जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो । 

प्रहरी कार्यालयबाट खटिएको टोलीले हिजो बेलुका वीरेन्द्रनगर—५ भेटनेरीलाईनस्थित खातखोलीबाट सादा पोशाकमा खटिएका प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । भेटनेरी लाइनस्थित सुमित्रा कामीको घरमा ठूलो मात्रामा लागूऔषध (ब्राउनसुगर) को कारोबार भईरहेको छ भन्ने गोप्य सूचना प्राप्त पश्चात कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध ब्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको सादा पोशाकका प्रहरी कर्मचारीहरुले लागूऔषध बरामद पनि गरेका छन्। 

उनीहरुले पाँच जनाबाट ९९ ग्राम २२० मिलिग्राम लागूऔषध जस्तो देखिने सेतोपदार्थ बरामद गरिएको छ । साथै उनीहरुबाट लागूऔषध नाप्न प्रयोग गरिने तराजु तथा नगद रुपियाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं.५ बस्ने बर्ष ४० की सुमित्रा कामी, सोही गाउँका २३ वर्षिय रमेश सुनार, वीरेन्द्रनगर—८ का २१ वर्षीय जीवन मर्साङ्गी मगर, वडा नम्वर सातका २६ वर्षीय ललित सिंजाली र वडा नम्वर तीनका २५ वर्षीय उत्तम शाही रहेका छन् । उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।