शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

औषधि व्यवस्था विभागले भन्यो : नेपालमा दर्ता नभएको बायोडी ड्रप्स प्रयोग नगर्नुहोस्

काठमाडौँ- औषधि व्यवस्था विभागले बच्चामा प्रयोग गरिने ‘बायोडी ड्रप्स’ नामक औषधिको बिक्री वितरणमा रोक लगाएको छ ।  

विभागका महानिर्देशक भरत भट्टराईले आज सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’ औषधिको प्रयोगले बच्चामा विभिन्‍न नकारात्मक असर देखिएकाले बिक्री वितरण गर्न रोक लगाइएको जनाएका छन् । उक्त औषधि बच्चालाई भिटामिन सी को रूपमा खुवाउने गरिन्थ्यो । उक्त औषधि भारतको जी प्रयोगशालाबाट उत्पादन गरिएको हो । 

सूचनामा औषधि ऐन, २०३५ बमोजिम विभागबाट अनुमति नभएका वस्तु औषधिका रूपमा मान्‍न नसकिने तथा सोको गुणस्तर तथा सुरक्षित र प्रभावकारिता बारेमा समेत एकिन नहुने हुँदा त्यस्ता वस्तुको पैठारी तथा बिक्री वितरण नगर्न/नगराउन र औषधिका रूपमा प्रयोग नगर्न विभागले आग्रह गरेको छ । 

हाल बजारमा उपलब्ध कतिपय भिटामिन तथा लवणका सार तत्व भएका भनिएका वस्तु र औषधि स्वास्थ्यका दृष्टिले अनावश्यक र उपयोगिता नहुने भएकोले त्यस्ता वस्तु र औषधिलाई प्रतिबन्ध लगाइएको सूचनामा भनिएको छ । 

महानिर्देशक भट्टराईले ट्याब्लेट, क्याप्सुल तथा झोललगायत औषधि र खाद्य समपूरकका रूपमा रहेका वस्तुको अत्यधिक पैठारी गरी सञ्चय, बिक्री वितरण र प्रयोग भइरहेको सम्बन्धमा विभागको ध्यानाकर्षण भएको जनाएका छन् ।