ताप्लेजुङमा ४५ प्रतिशत रोपाइँ

फुङ्लिङ- निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा ४५ प्रतिशत धान रोपाइँ सकिएको छ । असारको तेस्रो सातासम्ममा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । लेकाली तथा बाँझो जमिनमा धान रोपाइँ सम्पन्न भएको हो ।
रोपाइँ सुरू गर्ने समयदेखि नै वर्षा भएकाले जिल्लाका किसानले अहिले पनि सहज रूपमा रोपाइँ गरिरहेका कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयका प्राविधिक सहायक केदार धितालले बताए । उनका अनुसार गत वर्षभन्दा यस वर्ष समयमै सहज गरी किसानले रोपाइँ गर्न पाएका छन् । हालसम्ममा धान खेती हुने लेक क्षेत्र र बाँझो खेतमा किसानले प्राय: रोपाइँ गरिसकेकाे उनको भनाइ छ ।
हिमाली जिल्ला भएकाले ताप्लेजुङमा जेठको दोस्रो सातादेखि नै रोपाइँ सुरू गर्ने गरिएको छ । यसपाली जेठ मसान्तभित्रै जिल्लामा करिब १५ प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ ।
बाँझो खेतमा रोपाइँ सकेर मकै खेती गरिएको ठाउँ अर्थात् औल क्षेत्रतिर यतिबेला रोपाइँ गर्न थालिएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका, तथा सिदिङ्वा, पाथीभरा याङ्वरक, मिक्वाखोला, मैवाखोला, फक्ताङ्लुङ, सिरिजङ्घा, मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकामा किसानले धमाधम रोपाइँ गरिरहेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाको नौवटा स्थानीय तहका ६१ वडामध्ये उच्च हिमाली क्षेत्रका केही वडामा धान खेती गरिँदैन । बाँकी सबै क्षेत्रमा धान खेती अर्थात् रोपाइँ गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार सिङ्गो जिल्लाको खेतीयोग्य जमिन २७ हजार ५५१ हेक्टर क्षेत्रफलमध्ये हाल आठ हजार ७३७ हेक्टरमा धान खेती गरिँदै आएको छ । रासस

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सकियो

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

प्रतिक्रिया