वैदेशिक रोजगारीमा साउदी अरब जाँदै हुनुहुन्छ ? ठगिनबाट यसरी जाेगिनुहाेस्

काठमाडौं- वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएकाहरु ठगिनेक्रम बढेपछि रियादमा रहेको नेपाली दूतावासले साउदी आउन चाहने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
‘वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरुलाई यहाँको हावापानी, तापक्रम, भूगोल, भीसा तथा रोजगार (कफला) पद्दति, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधा र सेवा शुल्क, कामदार छनौट र भीसा प्रकृयामा हुने रोजगारदाताको खर्च लगायतका विषयमा जानकारी नहुँदा विभिन्न समस्याहरु झेल्नुपरेका धेरै घटनाहरु छन्,’ साउदी अरबस्थित नेपाली दूतावासका सूचना अधिकारी ऋषिराज आचार्यले भने ।
विशेष गरी कामदार साउदी अरब आउनासाथ काम र अन्य कुराहरुमा समायोजन हुन नसक्दा अविलम्व घर फर्कन चाहने, काम छाडेर सडकमा विक्षिप्त अवस्थामा हिड्ने, ज्यानै समेत जोखिममा परेका घटनाहरु हुने गरेको उनले सुनाए ।
साउदी जान चाहनेले सबैभन्दा पहिला त्यहाँको हावापानी र रहनसहन बझ्न जरुरी छ । साउदी एक इस्लामिक देश हो र यहाँ इस्लामिक कानून लागू हुन्छ । साउदी हावापानीका दृष्टिले निकै गर्मी देश हो । यहाँ गर्मीमा ५० डिग्रीसम्म तापक्रम पुग्छ । त्यसैले गर्मीमा खुला ठाउँमा काम गर्दा ज्यान समेत जानसक्छ ।
साउदी जानेले बुझ्नु पर्ने दोस्रो विषय हो– कपफल पद्धती । साउदीको भिषा कफला पद्धतिमा आधारित छ । कफला पद्धति भनेको रोजगारदाताको अनुमति वेगर देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यावसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने पद्धति हो ।
‘कफिल भनेका मालिक हुन् । कफिलले भिषा उपलव्ध नगरेसम्म कुनै पनि मुलुकबाट कुनै पनि व्यक्ति काम गर्ने हिसावमा साउदी अरब प्रवेश गर्न र स्वदेश फर्कन सक्दैन । कफिलको अनुमति वेगर तोकिएको भन्दा फरक काम गर्न, तोकिएको भन्दा फरक कम्पनीमा काम गर्न, कफला ट्रान्सफर गर्न (अर्को कम्पनीमा जान वा कफिल परिवर्तन गर्न) सकिदैन,’ सूचना अधिकारी आचार्यले भने ।
कफला पद्धति सिद्धान्ततः कामदारको संरक्षण र सुरक्षा गर्ने पद्धति भए पनि कार्यान्वयनमा भने थुप्रै प्रकारका समस्या देखिने गरेका छन् । यो पद्धतिको दुरूपयोग हुनेगरेका कारण कतिपय अवस्थामा कामदारले श्रम शोषण तथा अन्य कठीनाइहरू झेल्नुपर्ने अवस्था आउने गरेको छ ।
कफिलमा निहित अन्य अधिकारहरूमा कामदारलाई भगौडा जनाउने र विभिन्न मुद्धा लगाएर आफ्नो देश फर्कन पनि नमिल्ने गरी यात्रा बन्देज लगाउन सक्ने आदि रहेका छन् । यस प्रकारका घटनाहरूमा महिनौंसम्म अदालतमा मुद्धा चल्ने र अदालतबाट निरुपण भइ वा कफिलसँग समझदारी बनाएर तिर्ने बुझाउने रकम नबुझाएसम्म जुनसुकै बेला पक्राउ पर्ने र जेल जानुपर्ने हुनसक्दछ ।
‘कफिलको मृत्यु भएमा वा स्पोन्सर कम्पनी कानूनी समस्यामा परेमा कामदार पनि समस्यामा पर्ने हुन्छ । उसको अर्को कानूनी हक हस्तान्तरण भएर कफला नभएसम्म सबै सेवाहरू र काम ठप्प हुन सक्दछन । यसबाट वर्षौसम्म पनि कुनै नेपाली साउदी अरबमा नै बस्न वाध्य हुनुपर्ने अवस्था हुन्छ । यस किसिमका जटील समस्याबाट धेरै नेपालीहरू पीडित रहेको पाइएको छ,’ उनले भने ।
कफिलले ३ महिना सम्म सेवा सुविधा वा अकामा नदिएमा वा नवीकरण नगरेमा वा कम्पनी रेडमा अवस्था भएमा श्रम कार्यालयको स्वीकृतिमा कफला स्थानान्तरण गर्न सकिन्छ । तर प्रायः नेपाली कामदारले यो कुरा नबुझ्ने, भाषाको कठिनाइ हुने र श्रम अदालत जान डराउने कारण यो प्रावधानको अवलम्बन गरी आफ्नो समस्याको निकास खोजेको पाइदैन ।
‘यस्ता समस्याका कारण कामदारले कम्पनी छोड्ने गर्छन् जसका कारण उनीहरु अझ ठूलो समस्यामा पर्ने गर्छन् । यसरी कामदारहरू समस्यामा परेको मौका हेरी साउदी अरब मै रहेका कतिपय नेपालीहरूले कामदारलाई बढी तलव सुविधाको लोभ देखाइ गैरकानूनीरुपमा काममा लगाउने र पारिश्रमिक नदिने गरेको घटनाहरू प्रशस्त पाइएका छन्,’ उनले भने ।
साउदी अरब पुगेका महिला कामदारले धेरै समस्य भोग्नु परेपछि अहिले महिला कामदार साउदी लैजान बन्द गरिएको छ । अस्पतालहरूले आफ्नै भीसामा नर्स तथा सफाइ कामदारमा महिला ल्याउन चाहेमा राजदूतावासले सम्पूर्ण सेवा सुविधाका बारेमा निरीक्षण र अस्पतालसँग बैठक गरेपछि मात्र उपयुक्ताको आधारमा प्रकृया अगाडि बढ्दछ ।
‘घरेलु कामदारमा साउदी आउन पूर्ण बन्देज छ । परिवारका सदस्यहरू मात्र राजदूतावासको सिफारिशमा भिजिट भिसामा साउदी अरब आउन पाउने प्रावधान छ,’ सूचना अधिकारी आचार्यले भने ।
साउदी अरब जान चाहनेले यति मात्र बुझेर हुँदैन । जानुअघि कुन कामका लागि जान लागेको हो ? सो कामको लागि सरकारले तोकेको पारिश्रमिक कति छ ? सबै बुझ्न जरुरी छ । सरकारले तोकेको पारिश्रमिक भन्दा कम हुनेगरी कुनैपनि सम्झौता कामदारले गर्नु हुँदैन । संझौतापत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासन र मौखिक भनाइको भ्रममा पर्नु हुँदैन ।
आफू जुन कामको लागि जान लागेको हो त्यो कामबारे आफूमा सीप छ की छैन त्यो बुझ्न जरुरी रहेको दूतावासको भनाई छ । सीप नभएको भए सिकेर जानुपर्ने दूतावासको सुझाव छ । सीप जानेको छ भने त्यसको प्रमाणपत्र आवश्यक पर्छ, जुन पेश गर्न अनिवार्य छ ।
‘साउदी अरब आउन लाग्ने खर्च र साउदीमा काम गर्दा हुने आय तथा दुःखको तुलना गर्नुहोस् । फाइदा हुने देखिए मात्र साउदी अरबमा काम गर्न आउनुपर्छ,’ उनले भने, ‘विश्वासिलो र भरपर्दो मेनपावर कम्पनीबाट वर्किङ भीसामा मात्र साउदी आउनुपर्छ ।’
विचौलियाहरूको विश्वास नगर्न र कुनै रकम कसैलाई दिनुपरेमा भरपाई वा तमसुक गरेर मात्र दिन दूतावासले आग्रह गरेको छ । भिजिट भीसामा साउदी पुगेको थुप्रै नेपालीहरू अहिले अलपत्र बनेका छन् । यसैकारण वर्किङ भीसामा मात्र साउदी आउन दूतावासको सुझाव छ ।
‘साउदी अरबमा कामदारको रूपमा आउन सेवा शुल्कको रूपमा न्युनतम लागत (भिषा तथा टिकट र सेवा शुल्क रोजगारदाताले दिने भएकोले) मात्र लाग्छ । बढी रकम कसैलाई बुझाउनु पर्दैन । दश बीसहजार भन्दा वढी पैसा दिनुभएको छ भने तपाईँ नेपालमा नै ठगीमा पर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुनुहोस्,’ उनले भने । न्युज कारखाना

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया