सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

यस वर्ष सेतो मच्छिन्द्रनाथ रथयात्रा हुने

काठमाडाैँ : यसवर्ष सेतो मच्छिन्द्रनाथ रथयात्रा हुने भएकाे छ । सेतो मच्छिन्द्रनाथ रथयात्रा मुल समाराेह व्यवस्थापन समितिकाे आइतबार बसेकाे बैठकले रथ जात्रा गर्ने निर्णय गरेकाे समितिका संयाेजक एवं काठमाडाैँ महानगरपालिका वडा नं‍ २५ का वडाध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए । 

कोभिड-१९ को विश्वव्यापी सङ्क्रमण फैलिएसँगै सम्भावित जोखिमलाई नियन्त्रण गर्न गतवर्ष सेतो मच्छिन्द्रनाथ रथयात्रा स्थगित भएको थियाे । नेपाल सरकारले तय गरेकाे स्वास्थ्य मापदण्ड अपनाएर रथयात्रा गर्ने शाक्यले बताए । उनले भने, 'गतवर्ष जात्रा मनाएनाैँ । तर, अहिले अवस्था फेरिएकाे छ । आज गुठीका प्रतिनिधि, स्थानीय संघस‍ंस्था र सराेकारवालाहरूले जुन सुकै परिस्थितिमा पनि जात्रा निरन्तरता  हुनुपर्ने धारणा आएपछि रथयात्रा गर्ने  निधाे भएकाे हाे ।' 

महामारीकाे जाेखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षामा ध्यान दिएर जात्रालाई  निरन्तरता दिइने समितीका सदस्य एवं सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सेवक परिचालनकाे जिम्मा पाएका गणपतिलाल श्रेष्ठले जानकारी दिए ।  उनले भने, 'यसपटक विपद्सँगै स्वास्थ्य सुरक्षामा मुख्य ध्यान दिइनेछ ।'

नेपालमा मनाइने सांस्कृतिक परम्परागत जात्रामध्ये सहकालका देवता आर्यवलोकितिश्वर(सेतो मच्छिन्द्रनाथ)को रथयात्रा पनि मुख्य जात्रा हो । सेतो मच्छिन्द्रनाथलाई 'वर्षाको देवता' भनिन्छ। जात्राको पहिलो दिन जमलबाट असनसम्म रथ तानिन्छ भने दोस्रो दिन असनबाट हनुमानढोका र तेस्रो दिन हनुमानढोकाबाट लगन पुर्‍याएर रथयात्रा टुंगिन्छ। यसवर्ष बैशाख ७ गतेबाट एकहप्ता जात्रा सञ्‍चालन हुनेछ ।