भेडा पालन व्यवसाय संकटमा

लमजुङ- भेडा पालनलाई गुरुङ समुदायको पुर्ख्यौली पेसाका रुपमा मानिन्छ । विगतमा लमजुङमा झन्डै तीन सयभन्दा बढी भेडी गोठ थिए । स्थानीयले घुम्ती भेडी गोठमा सामूहिक रूपमा भेडा पाल्दै आएका थिए । तर, पछिल्लो समय भेडा पालन व्यवसाय संकटमा छ ।
युवा पुस्ताले यस व्यवसायमा चासो नदिएका कारण यो व्यवसाय संकटमा पर्न थालेकाे हो । युवा सहर, विदेश केन्द्रित छन् । तर, भेडा पालन व्यवसायमा युवापुस्ताको चासो छैन । भेडाको मासु र ऊन बिक्रीबाट मनग्य कमाउन सकिने भए पनि काम गर्न कठिन हुने भएकाले यस व्यवसायमा युवाले खासै चासो नदिएको भेडी गोठाला बताउँछन् । ‘भेडा पालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ उनीहरू भन्छन्, ‘तर भेडा चराउन कहिले बेँसी त कहिले लेक गरिरहनु पर्छ । दुःख छ । त्यसैले यो व्यवसायमा लाग्ने युवा छैनन् ।’
लमजुङमा ९० घुम्ती भेडी गोठ
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रुपेश श्रेष्ठका अनुसार लमजुङको भोजे, पसगाउँ, घनपोखरा, घेर्मु, ताघ्रिङ, बाहुनडाँडा, भुलभुले, फलेनी, वन्सार, पाचोक गौँडा, कोल्की, इलमपोखरी, दूधपोखरीलगायत स्थानमा घुम्ती भेडी गोठ छन् । उनका अनुसार जिल्लामा ९० वटा घुम्ती भेडी गोठ छन् । ती भेडी गोठमा झन्डै १५ हजार ‘बरुवाल’ जातका भेडा छन् ।
वार्षिक १२ करोड आम्दानी
घुम्ती भेडी गोठमा पालिएका भेडाबाट वार्षिक दुई सय मेट्रिकटन मासु उत्पादन हुन्छ । एउटा भेडाको मूल्य ३० हजारभन्दा बढी पर्छ । भेडाको उनको मूल्यप्रति धार्नी चार सयभन्दा बढी पर्छ । भेडाको मासु बिक्रीबाट मात्रै वार्षिक १२ करोड रूपैयाँ आम्दानी हुँदै आएको छ । यहाँका भेडाको मासु काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा पुग्छ । जिल्लामा वार्षिक झन्डै ६ हजार मेट्रिक टन ऊन उत्पादन हुँदै आएको छ । ऊन बिक्रीबाट मात्रै वार्षिक १२ लाख बढी आम्दानी हुँदै आएको छ ।
हिमालको काखसम्म पुग्छन् घुम्ती भेडी गोठ
भेडा चराउन भेडाको बथान लिएर भेडी गोठालाहरू लेक-बेँसी गरिरहन्छन् । भेडा चराउँदै उनीहरू हिमालको काखसम्म पुग्छन् । श्रेष्ठका अनुसार यहाँका केही पाका व्यक्तिले भेडा पालन व्यवसायलाई निरन्तरता दिएका छन् । उनीहरूले मनग्य कमाएका पनि छन् । भेडा पालन व्यवसायलाई व्यवसायीकरण गर्दै लगेमा यो व्यवसायबाट मनग्य कमाउन सकिने र युवा पुस्तालाई आकर्षित गर्न सकिने उनी बताउँछन् ।
उनका अनुसार केन्द्रले घुम्ती भेडी गोठलाई सोलार बत्ती, त्रिपाललगायत सामग्री प्रदान गर्दै आएको छ । भेडाको मासु, ऊन तथा मल बिक्रीबाट राम्रो कमाउन सकिने उनको भनाइ छ । उनले भने, ‘भेडाको मल बेचेर पनि आम्दानी गर्न सकिन्छ । तर, मल त्यसै खेर गएको छ । तल्लो भेगमा भेडी गोठ रहँदा खेतबारीमा प्रयोग भएको छ । तर, माथिल्लो भेगमा भेडी गोठ जाँदा मल त्यसै खेर गएको छ ।’

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया