सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

तत्कालीन प्रशासकीय अधिकृतसहित ११ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं– बाग्लुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाग्लुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर विकलाई मुद्दा दर्ता गरेको हो ।

खानेपानी योजना, सडक मर्मतमा अनियमितता गरेको भन्दै अधिकृत विकसहित सबइञ्जिनियर नवीन थापा, असिस्टेन्ट सबइञ्जिनियर सनोज उपाध्याय र लेखापाल खडानन्द कँडेलसहित ११ जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

आयोजनामा अनियमितता भएको भनी उजुरी परेपछि अनुसन्धान गरिएको थियो ।

‘कर्मचारीको मिलेमतोमा योजनाबद्ध ढंगले सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ को प्रावधानलाई समेत वेवास्ता गरी योजनालाई साना साना टुक्रामा विभाजन गरी, दरभाउ पत्रसमेत नलिई सामान्य निवेदनको भरमा काम भएको भनी नापी किताब तयार एवं भुक्तानी गर्ने कार्य गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याउने देहायका व्यक्तिहरुलाई देहाय अनुसारको सजायको मागदाबी लिइएको छ ।’ आयोगको प्रेस विज्ञप्तिमा उल्लेख छ ।