शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

दुई महिनामै पौने दुई खर्ब कर्जा वृद्धि

काठमाडौँः पछिल्लो दुई महिना (माघ र फागुन) मा वाणिज्य बैंकहरूले १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । पुस मसान्तसम्म ३२ खर्ब ३८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कर्जा चैत २ (मध्य मार्च) सम्म ३४ खर्ब ११ अर्ब रुपैयाँ रहेको नेपाल बैंकर्स संघले जनाएको छ । 

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको निक्षेप भने उक्त अवधिमा ३८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । कोभिड–१९ महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो गिरावटको सामना गर्नुपरेको भएपनि खासगरी रेमिट्यान्स आप्रवाह र निर्यात व्यापारमा सुधार हुँदा बैंकहरूको निक्षेप बढेको हो । कोभिड–१९ महामारी नियन्त्रण हुँदै गएपछि बिस्तारै आर्थिक क्रियाकलापले गति लिएपछि कात्तिक यता बैंकहरूको कर्जा प्रवाहमा क्रमशः सुधार हुँदै गएकोमा पुसयता कर्जाको माग उल्लेख्य बढ्न थालेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् ।