शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

केन्द्रीय खोप भण्डारमा पर्याप्त मौज्दात छैन, व्यवस्थापन गरेर अभियान चलाउनु : महाशाखा

काठमाडौँ- फाइजर खोप केन्द्रीय भण्डारमा पर्याप्त मौज्दात नरहेकाले सम्बन्धित जिल्लाका स्थानीय तह र स्वास्थ्य संस्थासँग खोप धेरै भएमा व्यवस्थापन गरेर सञ्‍चालन गर्न स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले निर्देशन दिएको छ ।

खोप अभियान सञ्‍चालन भएको जिल्लाले खपत र बाँकी रहेको खोपको परिमाण विवरण प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, व्यवस्थापन महाशाखालाई जानकारी गराउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले भनेको छ, 'थप खोप आगामी १९ गतेबाट प्राप्त भएपछि बाँकी खोप उपलब्ध गराउन सकिन्छ ।'

हाल २७ जिल्लामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने अभियान सञ्‍चालन भइरहेको छ। असार ९ गतेबाट खोप कार्यक्रम सञ्‍चालन भइरहेको छ।

झापा, सुनसरी, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, चितवन, मकवानपुर, कास्की, इलाम, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुरामा खोप अभियान जारी रहेको छ ।