बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

ओलीले देशलाई राजनीतिक द्वन्‍द्वतर्फ धकेलेकाले कांग्रेसले अग्रसरता लिनु पर्‍यो : प्रकाशमान सिंह

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्वन्‍द्वतर्फ धकेलेकाले कांग्रेसले सरकार निर्माणमा अग्रसरता लिनु परेको  बताएका छन् । दावाँली मिलन क्लबको १५औँ साधारण सभालाई सम्बोधन गर्दै नेता सिंहले वर्तमान समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस नेतृत्वको सरकार आवश्यक भएको बताए । यो सबै दलको निष्‍कर्ष रहेको उनको भनाइ छ । 

‘५ वर्षको लागि प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरू ३ वर्ष पनि टिक्न सकेनन्,' उनले भने, 'यो सरकार असफल भइसक्यो । देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकताअनुसार आफ्नो नेतृत्वको सरकार दिन तयार छ ।’

नेपालको संविधान निमार्ण गर्न पनि ४/ ४  जना कम्युनिष्ट नेताहरू असफल हुदाँ अन्त्यमा कांग्रेसको नेतृत्वको सरकारले नै संविधान निमार्ण गरेकाले अहिलेको राजनीतिक समस्याबाट निकास दिन पनि कांग्रेस नै सफल हुने उनको दाबी छ । कम्युनिष्टहरू नेपालको  राजनीतिमा असफल भइसकेको उनको दाबी छ ।

साथै नेता सिंहले राजनीतिक क्षेत्र सेवाको क्षेत्र भएकोले नेतृत्व कर्तामा सेवाको भावना हुन जरुरी रहेको बताए । उनले भने ‘तर कम्युनिष्टहरूमा सेवाको भावना छैन । अहिलेको नेतृत्व इमानदार हुनुपर्छ, सेवाको भावना हुनु पर् , राष्ट्रियता र नैतिकता हुनुपर्छ ।’