रियल म्याड्रिडको अध्यक्षमा उम्मेद्वारी दिन न्यूनतम शर्त, १२ करोड यूरोको बैंक ग्यारेन्टी

काठमाडौँ : स्पेनी क्लब बार्सिलोनाले नयाँ अध्यक्ष पाएको धेरै समय भएको छैन । बार्सिलोनाको प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडले पनि अध्यक्षका लागि निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ ।
बार्सिलोनामा जस्तै रियलमा पनि अध्यक्षको पदमा उम्मेद्वारी दिन केही शर्तहरू छन् । त्यसमा पनि मुख्य शर्त भनेको बैंक ग्यारेन्टी हो । रियलको अध्यक्ष हुन चाहने उम्मेद्वारले १२ करोड ४० लाख यूरो बराबरको बैंक ग्यारेन्टी देखाउनु पर्नेछ । त्यो भनेको रियलको बार्षिक बजेटको १५ प्रतिशत हो ।
स्पेनका दुई ठूला क्लबको निर्वाचनमा बैंक ग्यारेन्टीको महत्व उच्च छ । सन् २००९ को जुन यता रियलका अध्यक्ष रहेका फ्लोरेन्टिनो पेरेजलाई आगामी निर्वाचनमा टक्कर दिन चाहने जो कोहीले पनि पहिले बैंक ग्यारेन्टी पेश गर्नुपर्नेछ । रियलको अध्यक्ष बन्न बैंक ग्यारेन्टी मात्रै पर्याप्त छैन । विगत २० वर्षदेखि क्लबको सदस्य रहेको पनि हुनुपर्छ ।
पेरेज सन् २००० मा पहिलो पटक रियलका अध्यक्ष बनेका थिए । उनको नेतृत्वमा रियल विश्व फुटबलमै बलियो ब्रान्ड बन्यो । तर मैदानमा रियलले अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि सन् २००६ मा पेरेजले राजीनामा दिए । त्यसपछि अध्यक्ष बनेका रामोन काल्डेरोनले सन् २००९ मा पद त्यागेपछि पेरेज पुरानै जिम्मेवारीमा फर्किए । दोस्रो पटक क्लबको अध्यक्ष बनेपछि पेरेजले क्रिस्टियानो रोनाल्डो लगायतका खेलाडी भित्र्याए । जसका कारण रियलले मैदानमा अपेक्षाकृत सफलता हासिल गर्यो ।
निर्वाचनको मिति घोषणा नगरिए पनि २०२१-२२ सिजनको बीचमा हुने अनुमान गरिएको छ । सन् २०१३ र २०१७ को निर्वाचनमा निर्विरोध अध्यक्ष बनेका पेरेजले यसपटक पनि कसैबाट अवरोध सामना नगर्ने अपेक्षा गरिएको छ । बैंक ग्यारेन्टीको रकम धेरै भएकाले जो कोहीले उम्मेद्वारी घोषणा गर्नसक्ने अवस्था छैन । स्पेनकै सबैभन्दा ठूलो सिभिल इन्जिनियरिङ तथा निर्माण कम्पनी एसीएसका अध्यक्ष रहेका पेरेजको सम्पत्ति १.८ बिलियन अमेरिकी डलर रहेको र्फोब्सले जनाएको छ । जसका कारण ७४ वर्षिय पेरेजलाई बैंक ग्यारेन्टी बुझाउन गाह्रो छैन ।
अध्यक्षका लागि उम्मेद्वारी दिनुअघि पेरेजले किलियान एमबाप्पे र एर्लिङ हालान्ड जस्ता युवा स्टार अनुबन्ध गर्न चाहेको स्पेनी अखबारहरूले लेखेका छन् । त्यस्तै क्लब कप्तान सर्जियो रामोसलाई क्लबमै राख्ने चुनौति पनि उनको सामु रहेको छ । त्यसैगरी नयाँ स्वरुपको सान्टियागो बर्नबाउलाई पनि उनले आफ्नो सफलताका रुपमा प्रचार गर्न चाहेका छन् ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया