किन गरिब भइरहेका छौँ ?

प्रजातन्त्रका हितैषीहरूले भनिदेऊ
लोकतन्त्रका दोस्तहरूले भनिदेऊ
समाजवादका बथानहरूले भनिदेऊ
जनवादका जवानहरूले भनिदेऊ
हामी श्रमिक, हाम्रो पुस्ता श्रमिक
पुस्तौँ पुस्तादेखि हामी किन गरिब भइरहेका छौँ ?
भन, हाम्रा पाखुरीहरूले कहिले आराम गरे ?
हाम्रा हत्केलाहरू कहिले मुलायम भए ?
कुन दिन मीठो अन्न चपाएर निल्यौँ ?
भन, हामी कुन रात मस्तसँग निदायौँ ?
चर्को परिश्रमका थकाइहरूमा
हामी अलिकति रात भेट्टाउँछौँ
बिजुली चम्केजस्तै रात मिलिक्कै गायब हुन्छ
हामी सपना देख्न पनि फुर्सद पाउँदैनौँ
हामी प्रत्येक रात मृत्यु शय्यामा हुन्छौँ
प्रत्येक बिहान जीवन बोकेर उठ्छौँ
भन न, माथिका मालिक साहेब
हामी किन गरिब भइरहेका छौँ ?
भन मालिक
हामी बिना कुन सहरको निर्माण भयो ?
कुन पुलको निर्माण भयो ?
कुन पर्खाल हामीबिना ठडियो ?
हामीबिना कारखाना सजिएका छन् कि !
आकाशमा विमान बत्तिएका छन्
यो सारा संसार सिँगार्दा पनि
यो सारा संसार रंग्याउँदा पनि
दुःखले आधी पेट खाइरहेका छौँ
पुस्तौँ पुस्तादेखि
हामी किन गरिब भइरहेका छौँ ?
तिमीले हामीलाई सडकमा बोलायौ
हामी सडकमा आयौँ
तिमीले जिन्दावादको नारा लगाउन लगायौ
हामीले जिन्दावादको नारा लगायौँ
तिमीले फेरि नारा बदल्यौ
मुर्दावादको नारा लगाउन लगायौ
हामीले मुर्दावादको नारा लगायौँ
कहिले तिमीले हामीलाई गीत गाउन लगायौ
हामीले गीत गायौ
कहिले बाजा बजाउन लगायौ
हामीले बाजा बजायौँ
मनभरि वह र वेदना हुँदा पनि
हामीलाई नाच्न लगायौ
हामीले नाच्यौँ
हामी कहिलेसम्म तिम्रो इच्छामा नाचिरहने ?
कहिलेसम्म नारा लगाइरहने ?
परिश्रमका पसिना बगाइरहने ?
भनिदेऊ न मालिक महोदय
हामी कहिलेसम्म गरिब भइरहने ?
मालिक साब !
हामी रोगले ग्रस्त छौँ
हामी भोकले ग्रस्त छौँ
एकचोटि यो कुरा
तिम्रो प्रजातन्त्रलाई सोधिदेऊ
तिम्रो लोकतन्त्रलाई सोधिदेऊ
तिम्रो समाजवादलाई सोधिदेऊ
तिम्रो जनवादलाई सोधिदेऊ
हामी किन गरिब भइरहेका छौँ ?
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया