राप्ती खोलाको बीचबाट बन्दैछ बाइपास सडक

हेटौंडाः बागमती प्रदेश सरकारले हेटौंडा-१ को राप्ती खोलाको बिचबाट बाईपास सडक निर्माण गरिरहेको छ । प्रदेश सरकारले चौकिटोलको झोलुङ्गे पुल नजिकैबाट राप्ती पुलसम्म २२ सय मिटर लम्बाईको बाइपास सडक निर्माण गरिरहेको हो । १० मिटर चौडा भएको सडक २ लेनको बन्नेछ । बाइपास सडक पिच नभएर ग्राभेल मात्र हुनेछ ।
खोलाको बिचबाट बाइपास सडक निर्माणको काम सुरु भएपश्चात स्थानीय गणेश पौडेल निकै खुशी थिए, घरमूनि फराकिलो बाटो आयो भनेर । बस्ती जोगाउन बाइपास सडकको भूमिका ठुलो हुने देखिएको छ । बाइसपास सडकको किनारामा तारजारी र ढलान भएपछि खोलाबाट बस्ती सुरक्षित हुनेमा उनी खुशि बनेका हुन् ।
यसअघिको पुरानो बाइपास सडक र अहिले बन्दै गरेको सडकको बिचका दुरी भने करिब ५० मिटरको अन्तर छ । पहिले खोलाको किनारबाट बाइपास सडक थियो । अहिले स्थानीयको नम्बरी जग्गा जोगाउँदा बाइपास सडक खोलाको बिचमा बन्न पुगेको हो ।
स्थानीयको नम्बरी जग्गा खोलामा परेको थियो । कुनै योजना नबन्दा सो स्थान बगर नै थियो । एकाएक प्रदेशले बाइपास सडक निर्माण सुरु गरेपछि जग्गा विवाद भयो । स्थानीय आफ्नो जग्गामा बाइपास सडक निर्माण हुन नदिने भन्दै अदालतसम्म पुगेका थिए । बल्लतल्ल फर्काएर ल्याएको सम्झिन्छन् हेटौंडा–१ का वडाअध्यक्ष सबिन न्यौपाने ।
उनी भन्छन् जग्गा विवाद मिलाउन निकै कसरत गर्नुप¥यो । ‘आफ्नो नम्बरी जग्गा छोड्न मानेकै थिएनन् । उद्योग वाणिज्य संघमा पटकपटक आफ्नै नेतृत्वमा समिति बनाएर सहमतिमा ल्याए’ उनले भने ।
अहिले ८ देखि १० मिटरसम्म जग्गा स्थानीयले बाटोको लागि छोडेका छन् । प्रदेश सरकारले भने बाइपास सडकमा पर्ने जग्गाको क्षतिपूर्ति कसैलाई पनि दिएको छैन । फरक ठेक्कामा प्रदेशले राप्ती पुलदेखि हेटौंडा–१० को त्रिवेणी कुष्माण्ड धाम नजिकै सम्म १७ सय मिटरको बाइपास सडक निर्माणको काम अर्को प्याकेजमा गरिरहेको छ ।
दुई प्याकेज बनाएर बाईपास सडक निर्माण भइरहेको यातायात तथा पूर्वाधार निर्देशनालय बागमती प्रदेशको निर्देशक सहदेव भण्डारीले जानकारी दिए । चौकिटोलको झोलुङ्गे पुलबाट राप्तीपुलसम्मको बाइपास सडक आगामी कार्तिक २९ गतेसम्म सम्पन्न हुनेगरी १३ करोड ४४ लाख रुपैयाँको लागतमा बन्दैछ । कहिले जग्गा विवाद, कहिले प्रशासनिक कुरा र कहिले ठेकेदारको कारण काममा ढिलाई भएको जानकारी दिन्छन् निर्देशक भण्डारी । अहिले दुवै ठेक्काको काम द्रुत काम भइरहेको उनले बताए ।
यस्तै राप्तीपुलबाट त्रिवेणी धामसम्म ८ करोड ४७ लाख रुपैयाँको लागतमा बाइपास सडक निर्माण भइरहेको छ । हेटौंडाको चौकिटोलबाट सुरु भएको बाइपास सडक ३९ सय मिटरसम्म बन्ने पक्का छ । तर त्रिभूवन राजमार्गसँग कहाँ जोड्ने भन्ने टुंगो लागेको छैन । बाइपासलाई अझै लम्बाउने या कर्रा किनारबाटै त्रिभूवन राजपथसँग जोड्ने कुरामा अन्यौलता देखिन्छ । हेटौंडा–१० कर्रा खोलाको किनार र हेटौंडा १५ रातोमाटेमा बाइपास सडक मुख्य राजमार्गमा जोड्न सकिन्छ ।
बाइपास सडकको निरीक्षण गर्न स्थानीय जनप्रतिनिधी देखि प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल समेत पटकपटक निर्माणस्थलमा पुग्ने गरेका छन् । मुख्यमन्त्री पौडेल निर्माण कार्य स्थलमा पुगेर समयमै काम पुरा गर्न र गुणस्तरमा ध्यान दिन निर्देशन दिँदै फर्कने गरेका छन् ।

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँः उपप्रमुख डंगोल

जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

तपाईंसँग थन्किएर बसेको ह्विलचियर छ ?

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

प्रतिक्रिया