मलको अभावले तराईका धान खेतहरू बाँझै

बारा- रोपाइँ सिजनको मध्यमा पर्ने ‘आदरा’ अर्थात् असार १५ आउन एक हप्ता मात्र बाँकी रहँदा बारामा भने रोपाइँ सुरू पनि भएको छैन । उसै पनि आकाशे पानीको भरमा हुने खेतीमा वर्षा नभएर माटो भित्रको आद्रताको अभाव हुँदा बिडमा बिउ हाल्ने काम करिब एकदेखि २ हप्तासम्म ढिलो भएको छ ।
त्यसमाथि मल पनि नपाइने भएपछि बिउ उम्रिसकेका खेतमा पनि किसानले रोपाइँ सुरू गरेका छैनन् । यसरी मल नपाइने भएपछि अन्नको भण्डार भनिने मध्य तराईको जिल्ला बारा, पर्सा, रौतहटमा रोपाइँ प्रभावित भएको छ । खेतहरू बाँझै रहेका छन् ।
कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद शाहका अनुसार सिँचाइको समस्या दोहोरिने गरेको भए पनि किसानहरूले दमकल लगाउने, नदीमा बाँध लगाउने जस्ता उपाय अपनाउने गरेका छन् । मल अभावसँग जुध्ने जुक्ति अब नरहेको उनले बताए ।
कृषी ज्ञान केन्द्रको रेकर्ड अनुसार यी जिल्लाहरूमा १५० देखि १६० हजार हेक्टरसम्म धान खेती हुन्छ । धान यहाँको मुख्य बाली हो । भदौ असोजमै काटिने सारो धान छिटफुट रोपिएका छन् । तर यो पटक भने यी जिल्लाहरूमा २० प्रतिशत पनि रोपाइँ भएको छैन । अरू तराईका जिल्लाहरुको पनि अवस्था उस्तै छ ।
यता कृषि सामग्री कम्पनीको विरगंजस्थित मलको प्रवेश बिन्दु तथा मधेस प्रदेश कार्यालयका अनुसार कम्पनीले खरिद गरेको मल कहिले आइपुग्ने यकिन हुन सकेको छैन । असारको तेस्रो सातासम्म मल यहाँ आइपुग्ने आँकलन गरिएको कार्यालयका सूचना अधिकारी आलोककुमार झाले बताए ।
झाका अनुसार ग्लोबल टेन्डर मार्फत खरिद गरिएको ४० हजार टन डिएपी र ३० हजार टन युरिया गरी ७० हजार टन मल अहिले आयात हुने प्रक्रियामा रहेको छ र ‘जि–टु–जि’ (गभर्नमेन्ट टु गभर्नमेन्ट) प्रक्रियामा यस पाली खरिद गरिएको डेढ लाख टन मल नेपाल ल्याउन पहल गरिरहेको कम्पनीले जनाएको छ । हिजो मात्रै कायम मुकायम प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय टोली भारत गएको प्रदेश कार्यालयका सूचना अधिकारी झाले बताए ।
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डीएपीको वितरण यहाँ सुरू गरे पनि मागभन्दा निकै कम परिमाणमा आपूर्ति हुँदा त्यसबाट अझ वितरण कसरी गर्ने भने सकस भएको छ ।
गत जेठ २१ मा साल्ट ट्रेडिङकाे २० हजार टन डिएपी नेपाल भित्रिएको थियो । सो कम्पनी मार्फत आयात हुन लागेको २२ हजार टन युरिया हल्दिया बन्दरगाहबाट हिँडिसकेर ५ दिन भित्र आइपुग्ने अनुमान गरिएको विरगंजस्थित कार्यालयका प्रमुख अनोज लामिछानेले बताए ।
न्युज कारखाना

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया