पंकजविक्रम नेम्वाङ : कुनै समय 'चेन्ज एन्फा' भन्दै एउटै मोर्चामा लागेका कर्माछिरिङलाई हराएर एन्फा अध्यक्ष
पहिलो बैठकबाट खेलाडी र प्रशिक्षक विवादबारे निर्णय गर्ने

काठमाडौँ - कुनै समय 'चेन्ज एन्फा' भन्दै एउटै मोर्चामा लागेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङबीच सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)मा नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा भयो । २१औं चुनावी साधारण सभाबाट पुराना हितैषी कर्माछिरिङ शेर्पालाई ६ मत अन्तरले पराजित गरेका पंकजविक्रम नेम्वाङ आगामी चार वर्षका लागि एन्फालाई नेतृत्व गर्न अध्यक्षमा चुनिए ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले तत्कालीन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएपछि चेन्ज एन्फाको नारासहित एउटै प्यानलबाट नेपाली फुटबल परिवर्तन गर्न २०७४ वैशाख २२ गते कर्माछिरिङ शेर्पा एन्फाको अध्यक्षमा निर्वाचित भएका थिए ।
एउटै नारामा सहमति जनाउँदै पंकजविक्रम नेम्वाङ पनि शेर्पासँग चुनावी मैदानमा उत्रिएका थिए । चुनावमा सर्वाधिक भोटसहित उपाध्यक्ष निर्वाचित भएका थिए । तर, शेर्पाले नेम्वाङलाई एक वर्षपछि मात्रै वरिष्ठ उपाध्यक्ष बनाएका थिए ।
एन्फा नेतृत्वमा पुगेपछि शेर्पाले चार उपाध्यक्षलाई आफू अनुकुल कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने गरेपछि उनको नेम्वाङसँग सम्बन्ध चिसिएको थियो। त्यही चिसोपन तिक्ततामा परिणत हुँदै यो निर्वाचनमा एकअर्काविरुद्ध प्रतिष्पर्धा गर्ने अवस्थामा आइपुगेको हो।
जसमा नेम्वाङले कूल ८४ भोटमा ४५–३९ मतले प्राप्त गर्दै आगामी चार वर्षे कार्यकालका लागि निर्वाचित भए । पंकजसँगै कार्यसमितिमा पनि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, तीन उपाध्यक्षसहित उनकै पक्षको बाहुल्य रह्यो।
अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष नेम्वाङले तत्कालको लागि एन्फा र जिल्ला, एन्फा र खेलाडी तथा फिफा र एएफसी सम्बन्ध अझै सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । नव निर्वाचित अध्यक्ष नेम्वाङले खेलाडी र प्रशिक्षकको विवाद पहिलो बैठकबाट निर्णय गर्ने बताए ।
‘छानबिन समितिको प्रतिवेदनको वृहतरूपमा छलफल गर्छौं । सबै पक्षसँग बसेर समस्याको समाधान गर्नेछौं,' उनले भने, 'फिफाबाट प्रारम्भिक आर्थिक प्रतिवन्ध जस्तै अवस्था छ । सोही कारण साधारण सभामा अडिड रिपोर्ट पेस गर्न सकेनौँ । यो दायित्व पूरा गर्नेछौं । आफ्नो कार्यकालमा साफ जित्ने लक्ष्य राखेका छौं । यसबाहेक ग्रासरूट, युथ, महिला, लिगलाई व्यवस्थित गर्ने र राष्ट्रिय लिग सुरु गर्नेछौं ।’
झापा फुटबल संघ हुँदै एन्फा केन्द्रमा प्रवेश गरेयता कार्यसमितिमा निरन्तर रहेका नेम्वाङ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए ।
झापाका ५१ वर्षीय पंकजले नेपाली फुटबलमा तत्कालको प्राथमिकता एन्फा, जिल्ला र क्लहरूको सम्बन्धलाई सुधार गर्नुपर्ने रहेको बताए। ‘एन्फा र जिल्लाहरू, एन्फा र क्लबहरूको सम्बन्ध बिग्रिरहेको छ। एन्फा र खेलाडीहरूको सम्बन्ध राम्रो भइरहेको छैन,' उनले भने, 'हामीले फिफा, एएफसी (एसियाली फुटबल महासंघ) सँगकै सम्बन्ध राम्रो गरेर लैजानुपर्छ। सबै बिग्रिएका सम्बन्धलाई एउटा मालामा उनेर सम्बन्ध सुमधुर बनाउँदै अगाडि बढ्नुपर्छ।’
यता पराजित अध्यक्ष कर्माछिरिङ शेर्पाले नयाँ टीमलाई बधाइ दिँदै नेपाली फुटबल सञ्चालन गर्न सोचे भन्दा धेरै कठिन भएको बताए । उनले आफू पराजित भए पनि नेपाली फुटबल भन्दा धेरै टाढा नजाने र क्लबलाई थप व्यवसायिक बनाउने प्रतिक्रिया दिए।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादमा पनि मुछिएका नेम्वाङले एशियन कप छनोटको क्रममा खेलाडी र प्रशिक्षकको विवादबारे कार्यसमितिको पहिलो बैठकपछि निर्णय लिने बताए । यसअघि एन्फाले गठन गरेको छानबिन समितिले एशियन कप छनोटपछि प्रशिक्षक अल्मुताइरीको विकल्प खोज्न सिफारिस गरेको छ।
अल्मुताइरी र खेलाडीबीच सेवा सुविधाको विषयमा विवाद भएपछि केही खेलाडी एएफसी एशियन कप छनोटका लागि बन्द प्रशिक्षण छाडेका थिए । नवनिर्वाचित नेम्वाङले आर्थिक विषयमा भने श्वेतपत्र जारी गरेर अगाडि बढ्ने बताए ।
कार्यसमितिको पहिलो बैठकले संघको महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछ । र एन्फाको नयाँ कार्यसमिति २३ सदस्यीय बन्नेछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया