बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

किसुनजीको सपना राष्ट्रपति भण्डारीले पूरा गर्दाका चार तस्बिर

तस्बिर : सुनिल सी बज्राचार्य

काठमाडौँ : सिन्धुपाल्चोकको मेलम्चीलाई काठमाडौँ ल्याउने सपना देखेको दशकौं बित्यो । भनिन्छ, बाह्र वर्षमा खोला पनि फर्किन्छ । त्यस्तै दुई दशकपछि मेलम्चीको पानी काठमाडौँ आइपुगेको छ । झण्डै हप्तादिनको परीक्षणपछि भृकुटीमण्डपबाट मेलम्चीको पानी काठमाडौँमा वितरण भयो । राष्ट्रपति विद्यादेवी भण्डारीले 'मेलम्चीको पानी वितरण कार्यक्रम'को उद्घाटन गरिन् ।

उद्घाटनका लागि भृकुटीमण्डपमा ढुंगेधारा शैलीमा तीन वटा धारा नै निर्माण गरियो । तीन धारामध्ये राष्ट्रपतिले उद्घाटन गर्ने धारा बीचमा राखिएको थियो । तीन वटा धारा ढुंगेशैलीका धारामा सुनको जस्तो रङ समेत लगाइएको छ । राष्ट्रपति भण्डारी दिउँसो दुई बजेपछि कार्यक्रमस्थलमा पुगिन् । पुगेपछि उनले मेलम्ची खानेपानी आयोजनाको वितरण कार्यक्रम उद्घाटन लेखिएको शिलालेखमा राखिएको रातो पर्दा हटाइन् ।

जहाँ ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यक्रम समुद्घाटन भयो’ उल्लेख छ । जुन सपना पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको थियो । आफैँले उद्घाटन गरेको मेलम्चीको खानेपानीको धारा खोल्न उनी ढुंगेधारातर्फ अघि बढिन् ।

काठमाडौँको ढुंगेधारा मल्लकालिन सभ्यता हो । जहाँ सुनको रङ जस्तो ढुंगेधारा बनाएर खानेपानीको धारा बनाइन्छ । मल्लकालिन शैलीका ढुंगेधारामा मेलम्चीको खानेपानी उद्घाटन गर्ने सौभाग्य राष्ट्रपति भण्डारीलाई प्राप्त भयो ।

राष्ट्रपति भण्डारीले मेलम्ची उद्घाटन गर्दाको ऐतिहासिक क्षण क्यामेरामा कैद भए । काठमाडौँको तिर्खा मेटाउने सिन्धुपाल्चोकको मेलम्ची खानेपानी भृकुटीमण्डपमा खसाल्न राष्ट्रपति भण्डारीले टुटीतर्फ हात बढाइन् ।

जतिबेला प्रधानमन्त्री केपी शर्मा ओली, खानेपानीमन्त्री मणि थापा लगायत भीआईपी र आम दर्शकको व्यग्र प्रतिक्षा गरिरहेका थिए । राष्ट्रपति भण्डारीले धाराको टुटी घुमाइन् । ढुंगेधाराबाट स्वच्छ, सफा र सपनाको मेलम्चीको पानी छरछरछर....आयो ।