रक्तदाता बढेपछि रगतको आपूर्तिमा सहज

दाङ - दाङमा रगत अभाव सहज गएको छ । जिल्लामा पछिल्लो समय रक्तदाता बढ्दै गएपछि रगतको आपूर्तिमा सहजता आएको हो ।
मासिकरूपमा जिल्लामा बिरामीका लागि ४ सयदेखि ४५० युनिटसम्म रगतको माग हुने गरेकोमा सोही अनुसारको रगत आपूर्ति भइरहेको रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलीप न्यौपानेले बताए । ‘जिल्लामा संस्थागतरूपमा रगत दान गर्नेहरूको संख्या बढेको छ,’ उनले भने, ‘रक्तदाता बढेपछि अहिले जिल्लामा माग अनुसार रगतको माग धान्न सकिएको छ ।’ प्रमुख न्यौपानेका अनुसार जिल्लामा दैनिकरूपमा करिब १ सय जनाले संस्थागतरूपमा रक्तदान गर्ने गरेका छन् ।
एक महिना अघि निर्वाचनको समयमा रगतको अभाव रहेकोमा पछिल्लो समय रगतको माग सहज बनेको हो । रगतको माग बढ्दै गएको अवस्थामा रक्तदाता पनि बढेको प्रमुख न्यौपानेले बताए । ‘रगतको माग गत वर्षको तुलनामा बढेको छ, तर माग अनुसारको रक्तदाता पनि बढ्दा खुसी लागेको छ,’ उनले भने,‘रगत पर्याप्त हुँदा खेरी हामीहरूलाई व्यवस्थापनमा सहज भएको छ, यसका लागि रक्तदाता र विषेशगरी रक्तदानका लागि आयोजना गर्ने संघसंस्था प्रति आभारी छौँ ।’
जिल्लामा घोराहीसहित रक्त सञ्चार केन्द्र तुलसीपुर र लमही केन्द्रबाट रगत संकलन हुने गरेको छ । तीन वटै केन्द्रमा माग अनुसारको रगत आपूर्ति हुने गरेको केन्द्र प्रमुख न्यौपानेले बताए । ‘पछिल्लो समय दैनिक २/३ वटा संघसंस्थाले रक्तदान कार्यक्रम गर्ने गरेका छन्,’ उनले भने, ‘एउटा संघसंस्थाबाट २० बढीले जनाले रगत दान गर्ने गरेका छन् ।’
जिल्लामा माग अनुसारको रगत आपूर्ति हुन नसकेको खबर यसअघि सञ्चारमाध्यममा आएपछि रगत आपूर्तिमा सहज बनेको उनले बताए ।
नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुने गरेको छ । रक्तदानका लागि संघसंस्थाले रक्त सञ्चार केन्द्रलाई अनुरोध गरेपछि स्थलगतरूपमै पुगेर रगत संकलन गर्ने गरेको प्रमुख न्यौपानेले बताए । ‘रगत संकलन गर्न हामीहरू स्थलगतरूपमै पुग्ने गरेका छौँ,’ उनले भने, ‘यदि कुनै संघसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेपछि हामी कार्यक्रम आयोजनास्थलमै पुगेर रगत संकलन गरिरहेका छौँ ।’
संघसंस्थाले विभिन्न समयमा रक्तदान कार्यक्रमको आयोजना गरेपछि रगतको माग सहज बनेको हो । यस्तै कतिपय व्यक्तिले जन्मदिनको अवसरमा पनि रक्तदान गर्ने गरेका छन् भने कतिपयले नियमितरूपमा रक्तदान गरिरहेका छन् । रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख न्यौपानेका अनुसार जिल्लामा अहिले करिब २० जना व्यक्तिले नियमितरूपमा रक्तदान गर्ने गरेका छन् ।
पछिल्लो समय माग अनुसारको रगतको आपूर्ति सहज भए पनि केही रगत अभाव हुने गरेको राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विनोद सिंहले बताए ।
अस्पतालमा डायलाइसीस सेवा सुरू भएपछि रगतको माग बढी हुने गरेको मेसु सिंहले बताए । ‘अस्पतालमा मिर्गौलाको डायलाइसीस सेवा सुरू भएपछि रगतको माग उच्च भएको छ,’ उनले भने, ‘प्रसूतिका लागि पनि रगतको माग हुन्छ, त्यसकारण पनि अन्य ठाउँको तुलनामा राप्ती प्रादेशिक अस्पतालमा रगतको माग बढी हुने गरेको छ ।'

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया