मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

पोखरामा असार ४ देखि हेमजा गोल्डकप

पोखरा - पोखरामा असार ४ गतेदेखि छैटौं हेमजा गोल्डकप हुने भएको छ । हेमजा युनाइटेड क्लबको आयोजनामा शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा प्रतियोगिता हुन लागेको हो । 

पोखरामा हुने ‘छैटौं नेपाल आइस अन्तराष्ट्रिय हेमजा गोल्डकप–२०७९’ असार ११ गतेसम्म चल्नेछ । गोल्डकपका लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवँरले जानकारी दिए । उनका अनुसार अब मैदानमा लाइन बनाउने र स्टेज सजावटको मात्रै काम बाँकी रहेको छ । त्यो बाहेक प्रतियोगिताका अन्य तयारी सकिएको छ । 

१ विदेशीसहित ८ टिम सहभागी हुने प्रतियोगितामा शुक्रबारसम्म सबै क्लब पोखरा आइपुग्ने छन्। हेमजा स्थित गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने भएको कुवँरले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हेम्जामा क्लबले फुटबल एकेडेमी संचालनार्थ प्रतियोगिता आयोजना गर्न लागेको हो ।