बागमतीले कृषिमा ४ अर्ब ४९ करोड बजेट छुट्यायो, यस्ता छन् कार्यक्रम

मकवानपुर- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकास तथा आत्मनिर्भरतालाई प्राथमिकता दिएको छ । प्रदेश सरकारले कृषि क्षेत्रको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ४ अर्ब ४९ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले कृषि तथा पशुपन्छी मन्त्रालयबाट कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिक रूपान्तरणको लक्ष्य लिएको छ । कृषिमा सीपयुक्त जनशक्ति र उद्यमशीलता विकास तथा रोजगारी र स्वरोजगारीका अवसरको सिर्जना गर्ने लक्ष्य लिइएको छ ।
कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट आधुनिकीकरण, विशिष्टीकरण, यान्त्रिकरण, औद्योगिकीकरण र व्यावसायिकरण गरी रूपान्तरण गर्न र कृषि तथा पशुपन्छी पालनमा संलग्न किसान, व्यवसायी र सहकारीलाई प्रोत्साहन र बजारको पहुँच सहजीकरण गर्न जोड दिने योजनाहरू प्रदेश सरकारले अघि सारेको प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकाराम जमकट्टेले बताए ।
प्रदेश सरकारले कृषि तथा पशुपालनका क्षेत्रमा प्रदान गरिदै आएको अनुदानको प्रभावकारिता कम देखिएको भन्दै उत्पादनमा आधारित प्रोत्साहन बाहेकका सबै अनुदान खारेज गरेको छ । आगामी वर्षदेखि वास्तविक किसानलाई सहयोग पु¥याउने उद्देश्यले घुम्ती कोष स्थापना गरी समूह, नीजि तथा सहकारी लक्षित गरी कार्य प्रगतिको आधारमा निर्ब्याजी बीउ पुँजी किस्ताबन्दीमा उपलब्ध गराउन ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
बीउ पुँजीको अन्तिम किस्ता प्रदान गर्दा उत्पादन परिमाणलाई आधार बनाईने र निश्चित वर्षपछि सो रकम फिर्ता गर्नुपर्ने गरी यथाशीघ्र कार्यविधि तर्जुमा गरिने प्रदेश सरकारले जनाएको छ ।
अण्डा, माछा–मासु, आलु, प्याज, लसुन र अदुवालगायतका वस्तुहरूमा आत्मनिर्भर बनाउन उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्न ४४ करोड ५० लाख रुपैयाँ बजेट व्यवस्था गरेको प्रदेश सरकारले प्याज र लसुनको प्रवर्धनका लागि दश क्विन्टलभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रति किलो एक रुपैयाँको दरले प्रोत्साहन दिने भएको छ ।
संघीय र स्थानीय तहसँगको समन्वयमा बाँझो एवं उपयोगविहीन खेतीयोग्य जमिन किसान, कृषक समुह र कृषि सहकारीलाई भाडामा उपलब्ध गराउने, संघीय सरकारबाट हस्तान्तरण भई आउने कृषि तथा पशु क्षेत्र (जोन)लाई प्रभावकारी रुपले सञ्चालन गर्नको लागि प्रदेश सरकारले बजेट छुट्याएको छ ।
दुधको उत्पादनमा आगामी ३ वर्ष भित्र ३५ प्रतिशतले बृद्धि गर्न सम्भाव्यताका आधारमा ‘डेरी एक्सेलेन्सी सेन्टर’ स्थापना गर्न सहकारी तथा नीजि क्षेत्रलाई प्रोत्साहन दिने कार्यक्रम ल्याइने भएको छ ।
प्रदेश सरकारले यस अघि दुध उत्पादनमा दिईदै आएको प्रति लिटर दुई रुपैयाँ उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाईलाई भने आगामी वर्ष थप विस्तार गरिने जमकट्टेलले बताए । तर यस कार्यक्रमबाट वास्तविक किसान लाभान्वित भए नभएको सम्वन्धमा अनुगमन गर्न संयन्त्र बनाईने उनले बताए ।
उक्त प्रोत्साहन रकम किसानहरूको बैंक खातामा सोझै जम्मा हुने व्यवस्था मिलाईनेछ । दूध उत्पादन प्रवद्र्धन गर्ने कार्यक्रमको लागि प्रदेश सरकारले ३० करोड विनियोजन गरेको छ ।
यसैगरी कृषि क्षेत्रको विकासकै लागि हेटौंडामा निर्माणाधीन पाउडर प्लान्ट आगामी वर्षदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिने भएको छ । यसैगरी काभ्रेपलाञ्चोक जिल्लामा मिनी पाउडर प्लान्ट स्थापनाको कार्य अगाडि बढाइने भएको छ ।
एकल महिलाद्वारा सञ्चालित कृषि फर्म र कृषि उत्पादकमूलक कार्यक्रमलाई कामका आधारमा प्रोत्साहन दिईने, दलित किसानहरूलाई तरकारी, फलफूल, नगदे बालीमा आकर्षित गरी स्वआर्जन गर्ने अवस्था सिर्जना गरिने, बनकरिया, सुरेल, हायु, बोटे, माझी, जिरेल, थामी, चेपाङ र भुजेल जातिका किसानको जीवनस्तर उठाउन कृषि शिक्षा र बीउ पुँजी उपलब्ध गराउने जस्ता कार्यक्रम पनि आगामी वर्षको बजेटको प्राथमिकतामा परेका छन् ।
यसैगरी सिन्धुपाल्चोक जिल्लामा बाढीबाट प्रभावित किसान लक्षित गरी कृषि व्यवसाय पुनर्स्थापना गर्न ३ करोड र धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिका सहितका मानव विकास सूचकाङ्कमा पछाडि परेका स्थानीय तहमा कृषि प्रवर्धनमार्फत् किसानको आयआर्जन वृद्धि गर्न २ करोड विनियोजन गरेको छ ।
प्रदेशमा उत्पादन भएका तरकारीहरूको समर्थन मूल्य तोकी सहकारी तथा नीजि क्षेत्र मार्फत् खरीद गर्न प्रोत्साहन गरिने भएको छ ।
साथै संघीय सरकार, सहकारी र नीजि क्षेत्रसँगको सहकार्यमा अन्य मुख्य बालीहरूको समर्थन मूल्यमा खरीद गर्ने व्यवस्था मिलाउन ७ करोड ४० लाख विनियोजन गरेको छ ।
किसानको आत्मसम्मान सहितको पहिचान कायम गराउन व्यावसायिकताका आधारमा किसानहरूको वर्गीकरण गरी किसान परिचयपत्र वितरण शुरु गर्ने काम प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सुरु गर्ने भएको छ । यही वर्गीकरणका आधारमा प्रदेश सरकारबाट दिईने प्रोत्साहनलाई लक्षित वर्गमा पु¥याईनेछ ।
यसैगरी माटो परीक्षण गर्ने कार्यलाई तीव्रता दिई माटो स्वस्थता प्रमाणपत्र उपलब्ध गराउने, माटोमा ह्रास हुदै गएको प्राङ्गारिक पदार्थको मात्रालाई वृद्धि गर्न प्राङ्गारिक मल र गड्यौला मलको प्रयोगलाई प्रोत्साहन गर्न प्रदेश सरकारले ५ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
आगामी तीन वर्षभित्र प्रदेशलाई धान, मकै, गहुँलगायत तरकारी र फलफूलको बीउमा आत्मनिर्भर बनाउन नीजि तथा सहकारी क्षेत्रसँगको साझेदारीमा चितवन, मकवानपुर, धादिङ र काभ्रे जिल्लामा बीउ उत्पादनको पकेट क्षेत्र स्थापना गरी बीज प्रवर्धन कार्यक्रम सञ्चालन गर्न ५ करोड विनियोजन गरिएको छ ।
यसैगरी प्रदेशभित्र सम्भाव्यताका आधारमा रासायनिक मल कारखाना र कृषि औजार कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाईने, बीमा कम्पनीहरूसँगको सहकार्यमा बाली तथा पशु बीमा सेवालाई विस्तार गरिने, फलफूल तथा तरकारीको व्यावसायिक उत्पादन र भण्डारणलाई टेवा पु¥याउन नीजि क्षेत्रसँगको साझेदारीमा शीतभण्डार स्थापना र सञ्चालन गरिने भएको छ ।
प्रदेशभित्र निर्माणाधिन दश वटा शीत भण्डार आगामी वर्षमा नै सम्पन्न गर्न ५ करोड विनियोजन गरेको छ । साथै मकवानपुरको थाहा नगरपालिकासँगको लागत साझेदारीमा पालुङमा निर्माण भएको शीत भण्डारका लागि आवश्यक यन्त्र उपकरण खरीद गर्न ३ करोड रुपैयाँ स्रोत व्यवस्था गरेको छ ।
पाँच विगाहा वा पचास रोपनी भन्दा बढी जमिनमा तरकारी खेती गर्ने किसानको कृषि उपज भण्डारणको लागि कोल्ड च्याम्बर निर्माण गर्न सहयोग पु¥याउने गरी बजेट व्यवस्था गरेको छ । खेती गरिएको क्षेत्रफलका आधारमा माग बमोजिमका आधुनिक यन्त्र उपकरण उपलव्ध गराउन ११ करोड २५ लाख विनियोजन गरेको छ ।
आगामी वर्षभित्र मकवानपुरमा निर्माणाधीन कृषि थोक बजार सञ्चालनमा ल्याउन १५ करोड विनियोजन गरेको छ । धादिङ जिल्लाको धार्के र काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुरमा शीत भण्डार सहितको कृषि बजार स्थापना गर्न बजेट व्यवस्था गरेको छ ।
पशुमा लाग्ने खोरेत, पिपिआर र रेबीज रोग उन्मूलन गर्न निःशुल्क खोप अभियान कार्यक्रम सञ्चालनका लागि ५ करोड रुपैयाँ व्यवस्था गरेको छ । पशु प्रजनन् सम्वन्धी काम गर्ने कार्यालयको संस्थागत सुदृढीकरण गरी उन्नत पशुपालनलाई प्रोत्साहित गर्ने प्रबन्ध गरेको छ ।
उच्च पहाडी र हिमाली भेगमा चौंरी र च्याङ्ग्र्रा पालनको प्रबद्र्धन गर्न पशु चिकित्सक सेवा सहितको नश्ल सुधार, आहार व्यवस्थापन, खर्क सुधार, तालिम लगायतका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छ ।
स्थानीय तहसँगको समन्वयमा हरेक वडामा कृषि प्राविधिकको व्यवस्था सहित ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ स्थापना गर्न १८ करोड २७ लाख रुपैयाँ विनियोजन गरेको छ ।
कृषिसँग सम्बन्धित विश्वविद्यालय र कृषि अनुसन्धान परिषद्सँग सहकार्य गरी कृषि सम्बन्धी अध्ययन अनुसन्धान, प्रविधि विकास र प्रसार मार्फत कृषि प्रणालीलाई प्रवद्र्धन र रुपान्तरण गर्न रकम विनियोजन गरेको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कुल ७० अर्ब ९३ करोड ९२ लाख बजेट विनियोजन गरेका हुन् । कूल विनियोजन मध्ये चालु तर्फ १९ अर्ब ०२ करोड ४१ लाख रुपैयाँ, पुँजीगत तर्फ ४१ अर्ब ५६ करोड २४ लाख रुपैयाँ, वित्तीय हस्तान्तरण तर्फ ८ अर्व ३५ करोड २७ लाख रुपैयाँ र वित्तीय व्यवस्था तर्फ २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । कूल विनियोजन मध्ये चालु तर्फ २७ प्रतिशत, पुँजीगत तर्फ ५८.५८ प्रतिशत, वित्तीय हस्तान्तरण तर्फ ११.७७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २.८१ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २६ अर्व ९७ करोड ११ लाख रुपैयाँ, गैरकर राजस्वबाट ६ अर्व २२ करोड ४४ लाख रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख रुपैयाँ र चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ व्यहोरिने बजेटमा उल्लेख छ ।

मण्डनदेउपुरका चार उद्योग बन्द गरियो

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि
४७ व्यापारीविरुद्ध मुद्दा दायर
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
अब सुकाजोरबासीलाई गाउँमै खानेपानी

प्रतिक्रिया