बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

श्रम अदालतमा यस आर्थिक वर्षको जेठसम्ममा १ सय ६८ थान मुद्दा दर्ता

काठमाडाैँ -  श्रम अदालतले यस आर्थिक वर्षको जेठ महिनासम्ममा १ सय ६८ थान मुद्दा दर्ता भएको जनाएको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अदालतले यसबारेमा जानकारी गराएको हो । आर्थिक वर्ष २०७८/०७९ को जेठ महिनासम्म १६८ थान मुद्दा दर्ता भएकोमा १९३ मुद्दा फर्छ्यौट भएको श्रम अदालतकी सूचना अधिकारी रत्ना घिमिरेले जानकारी दिए । उनले गत वर्षदेखि बाँकी रहेको र यस वर्ष दर्ता भएका श्रमसम्बन्धी मुद्दा जम्मा ३९७ मुद्दामध्ये २०४ वटा मुद्दाको फर्छ्यौट भएको बताए ।

घिमिरेले आर्थिक वर्ष २०७७/०७८ मा वार्षिक लागत जिम्मेवारीतर्फ ११५, नयँ दर्तातर्फ १९९ गरी कूल ३१४ रहेको बताए । त्यस्तै फर्छ्याैटमा फर्छ्याैट लक्ष्य १८३, फर्छ्याैट ८५ र फर्छ्याैट प्रतिशत ४६ रहेको उल्लेख गरे । गत आर्थिक वर्षमा फर्छ्याैट प्रतिशत ६७ थियो । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ को मासिक लागत लक्ष्य साउनमा १६, भदौ ३०, असोज ३०, कार्तिक १२, मंसिर २८, पुस २८, माघ ३०, फागुन २५, चैत ३३ र २०७९ को वैशाखमा २९ र जेठमा ३२ वटा मुद्दा फर्छ्याैट गर्ने लक्ष्य राखेकोमा क्रमशः साउनमा २, भदौ १४, असोज १७, कार्तिक ४, मंसिर ९, पुस १२, माघ ५, फागुन ३०, चैत १७ र २०७९ वैशाख २५ र जेठ ५६ वटा मुद्दा फर्छ्याैट गरेको छ । प्रतिशतमा हेर्ने हो भने क्रमशः १२.५, ४६.६, ५६. ६, ३३.३, ४२.८, १६.६, १२०, ५१.५, ८६.२ र १७५ प्रतिशत फर्छ्याैट गरेको देखिएकाे छ ।

सूचना अधिकारी घिमिरेले कार्यालय भाडामा सञ्‍चालन भइरहेको र कोठाको अभाव रहेको, पार्किङ स्थलको अभाव, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानरको न्यून उपलब्धता, सदस्यहरुको सवारी साधन पुरानो भएको र कार्यालयमा आवश्यक पर्ने आधारभूत सवारीसाधन पर्याप्त नभएको बताए । आर्थिक वर्ष २०७८/०७९ मा रेडियो नेपाल विपक्षी भएको तीन थान मुद्दा मिलापत्र भएको छ ।

त्यस्तै सञ्‍चारसम्बन्धी ४ वटा मुद्दाहरु पुनर्बहाली भएको छ । जसमा टि.बि. आई विपक्षी भएको मुद्दामा पुनरावेदक विजय देवकोटाको पुनर्बहाली, शिलापत्र मिडिया विपक्षी भएको मुद्दामा पुनरावेदक कृष्णराज गिरीको पुनर्बहाली, विपक्षी बी.बी.सी वर्ल्ड सर्भिस भएको मुद्दामा पुनरावेदक अनुज कुँवरको पुनर्बहाली भएको भने विपक्षी नेपाल ब्रोडकास्टिङ प्रा.लि. भएको मुद्दामा पुनरावेदक निरज खतिवडाको पुनर्बहाली भएको छ । हिमालय टि.भीको १, कान्तिपुर पब्लिकेशनको २, टाइम्स ब्रोडकाष्टिङको १ र स्पेस टाइम नेटवर्कको एक मुद्दा कारबाहीको क्रममा रहेको छ ।