सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

भक्तपुरमा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँचको लागि कार्यक्रम

काठमाडौँ- अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँच बिस्तार गर्ने उद्देश्यले भक्तपुरमा चारदिने क्षमता अभिवृद्धि तालिम कार्यक्रमको आयोजना गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले संयुक्त रुपमा कार्यक्रम गरेको हो ।

व्यावसायिक क्षमता अभिवृद्धि गरी वस्तु आयात र निर्यात सम्बन्धिको ज्ञान दिनको सो कार्यक्रम गरेका भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले बताए ।  जेठ मसान्तदेखि असार ३ गतेसम्म हुने तालिममा २५ जना व्यवसायीहरु सहभागी छन् ।

चेम्बरले भक्तपुरमा उत्पादन हुने तोरीको तेल, जुजु धौ, कालो टोपी, हेन्डीक्राफ्ट, लोकल रक्सी लगायतका स्थानीय उत्पादनलाई ब्राण्ड बनाउनुपर्नेमा जोड दिँदै आएको छ । तालिम कार्यक्रम पश्चात् स्थानिय स्तरमा उत्पादित वस्तुलाई ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरणको सिर्जना हुनेमा मानन्धर आशावादी छन् ।  त्यस्तै, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भक्तपुरमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नसके समग्र देशमा हुने बस्तु आयातको दर कम हुने बताए ।

अहिलेको अवस्थामा निर्यात भन्दा आयात १० गुणाले बढीरहेको भन्दै राणाले यसप्रति चिन्ता व्यक्त गरे । तालिम कार्यक्रमलाई भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले संयुक्तरुपमा गरेका छन् । कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार रोशन भोयद्यो, विष्णुभक्त मारिखु लगायतको उपस्थिति थियो ।