बैतडीमा सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती
बैतडी - सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई निकै सास्ती भएको छ । बैतडीको दुर्गम क्षेत्रमा नजिकमा बैंक नहुँदा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता बुझ्न असहज भएको हो ।
सिगास गाउँपालिकाका नागरिकले भत्ता बुझ्न तीन दिनसम्म लाग्ने गरेको गुनासो गरेका छन् । गाउँपालिकाले वडा नम्बर २ गाँजरीस्थित कृषि विकास बैंक शाखाबाट सामाजिक सुरक्षा वितरण गर्दै आएको छ । सडक सुविधा नभएकाले उनीहरुलाई भत्ता बुझ्न समस्या हुने गरेको छ । “काम गर्न तीन दिनसम्म लाग्ने गरेको छ”, सिगास गाउँपालिका–६ थलाकडाका कले लुहारले भने, `सडक सुविधा नहुँदा समय बढी लाग्ने गरेको छ ।`
सरकारले बैंकबाट मात्रै सामाजिक सुरक्षा भत्ता बुझ्ने नियम बनाएपछि दुर्गम क्षेत्रका नागरिकलाई समस्या भएको छ । बैंकको पहुँचभन्दा टाढा भएकालाई समस्या भएको सिगास–७ का ज्येष्ठ नागरिक महा लुहारको भनाइ छ । उनले भने, `बैंकमा लामो समय लाइन बस्नुपर्छ, कहिले इन्टरनेट हुँदैन, कहिले विजुलीको समस्या छ भन्छन् ।`
सिगास–५,६,७, ८ र ९ का बासिन्दलाई बैंक टाढा हुँदा समस्या छ । जिल्लाका सबैजसो ठाउँमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भइरहेको छ । बिजुली बत्ती नहुँदा सोलारको भरमा काम गर्नुपरिरहेको गाँजरीस्थित कृषि विकास बैंकका प्रमुख शेरसिंह साउदले बताए । उनले भने, `बिजुली पुगेको छैन । सोलारको भरमा काम गर्नुपरिरहेको हुन्छ । घाम नलागेको बेला सोलारले काम नगर्दा झन् समस्या हुन्छ । इन्टरनेट सेवा पनि द्रुत गतिको छैन । यसबाट सेवाग्राहीलाई सास्ती हुने गरेको छ ।`
ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती भएकाले बैँकसित समन्वय गरेर वडा कार्यालयमार्फत गाउँमै भत्ता वितरण गर्नुपर्ने सेवाग्राहीको माग छ ।
सेवाग्राहीको मागअनुसार गाउँपालिकाबाट निर्णय गरेर गाउँमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल भइरहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । रासस

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया