सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

विद्युत् सर्ट भएर आगलागी हुँदा दोलखामा निसास्सिएर एक जनाको मृत्यु

फाइल फोटो

चरिकोट- दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका–१ स्थित एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षीया निदकुमारी मगरको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।    
    
घरको छुट्टै कोठामा वृद्धा एक्लै सुत्ने गरेको र घरमा आगलागी भएपछि स्थानीयवासीले उद्धारको प्रयास गरे पनि निसासिएर उनको घरभित्रै मृत्यु भइसकेको स्थानीयवासी बताएका छन् । बिहानीको समयमा घरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी घर पूर्ण रुपमा नष्ट भएको छ भने घरमा रहेको बाख्रा तथा कुखुरासमेत जलेर मरेका छन् । आगलागीबाट के कति क्षति भयो भन्ने बारेमा विवरण सङ्कलन भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।