वीर नेम्वाङ: मोस्ट वान्टेडदेखि काङसोरे पुरस्कारसम्म

काठमाडौँ - पञ्चायतकालमा जातीय विखण्डनको पृथकतावादी राजनीति गरेको आरोपमा ‘मस्ट वाण्डेट’ भूमिगत नेता हुनुहुन्थ्यो, वीर नेम्वाङ। जति बेला प्रतिबन्धित कांग्रेस, कम्युनिष्टहरू बहुदलीय प्रजातन्त्रका लागि आन्दोलित थिए, त्यस बेला नेम्वाङ ऐतिहासिक आधारमा लिम्बुवान स्वायत्त प्रदेशको माग लिएर उनी भूमिगत राजनीति गरिरहेका थिए । अहिले पहिचानको राजनीति भनिने सवाल नेम्वाङले झण्डै चार दशक अघि उउठाएका थिए ।
झण्डै पाँच दशक लामो राजनीतिक यात्रामा रहेका भएका वीर नेम्वाङलाई बेलायत स्थित लिम्बुवान नागरिक समाज युकेले आइतबार धरानमा १ लाख रुपैयाँ राशीको ‘काङशोरे पुरस्कार’ प्रदान गरेको छ। उनले थालेको लिम्बुवानको राजनीतिले फुट्दै फैलिदै अहिले धेरै नेता जन्माइसकेको छ। पछिल्लो पुस्ताका लागि वीर नेम्वाङ ‘मिथक’ झै हुन् ।
संघीयताको कल्पना समेत नगरिने त्यो समयमा पहिचानको राजनीतिलाई उनकै भाषामा ‘होमल्याण्ड’ मागलाई जातीय विखण्डन, पृथकतावादी मानियो र राज्यद्वारा उनलाई मस्ट वान्टेडको सूचीमा राखियो। मातृभाषा पढ्नु राज्यले अपराध ठहर गर्ने समयको राजनीति अहिले छैन् । संयोगको कुरा नेम्वाङलाई राज्यकै प्रथम अंग प्रादेशिक व्यवस्थापिका प्रदेश १ संसद्का सभामुख प्रदीपकुमार भण्डारीले पुरस्कार राशि, सम्मानपत्र प्रदान गरे।
सभामुख भण्डारीले भने ‘म आफै पनि लिम्बुवानमा हुर्केको मानिस हुँ, अब उहिलेको जस्तो जाति, भाषा, पहिचान अस्तित्वको कुरा गर्नु सबै स्वतन्त्र छन्।’ वीर नेम्वाङ नेपाली राजनीतिमा एउटा इतिहास बनाएका पात्र भएको उनले बताए । त्यो इतिहासले नेपाल विविध जाति, भाषा, संस्कृति र भूगोलको इतिहास भएको मुलुक हो भन्ने कुराप्रति सबैलाई झकझकाउँदै आएको उनको भनाई थियो।
वीर नेम्वाङले शुरु गरेको मुद्दा अहिले प्रदेश १ को नामकरण सम्म आइपुगेको छ। तर संसदीय अङ्कगणितका कारण प्रदेश सभामा ‘लिम्बुवान’ ओझेलमा परेको छ। सभामुख भण्डारीको भनाई छ ‘दलीय सहमति बिना मुख्यमन्त्रीले चाहँदैमा पनि प्रदेशको नामकरण हुने अवस्था छैन।’ मुख्यमन्त्री राजेन्द्र राई किरात प्रदेशको पक्षमा सार्वजनिक अभिव्यक्ति प्रकट गर्दै आएका छन् ।
वीर नेम्वाङले चाहेको स्वायत्त प्रदेशको राजनीतिक इतिहास संघीयताको संसदीय राजनीति सम्म आइपुग्दा उनको लिम्बुवान भने जहाँको त्यहीँ सडकमै छ। त्यहाँ नाराबाजी, जुलुस गर्नेमा अहिले वीर नेम्वाङ छैनन्। तर उनी भने अहिले पनि राजनीतिमा सक्रिय रहको बताउँछन्। राजनीतिक परिवर्तन र विकास क्रमले पहिचानको सवाल निकै अघि बढेपनि अस्तित्व भने अझै स्थापित नभएको बताउँदै उनले भने ‘विश्वको इतिहासमा ऐतिहासिक तथ्य, भाषा संस्कृतिको आधारमा हासिल भएको ‘होम ल्याण्ड’को रुपमा लिम्बुवान स्वायत्त प्रदेशको माग गरेको हुँ, त्यो प्राप्त भएको छैन।’
त्यसो हुनुमा लिम्बुवानको आन्दोलन निकै अघि बढ्यो तर, विभाजित भएर अघि बढेकाले उद्देश्य प्राप्त हुन नसकेको उनको भनाई छ। इतिहासको लिम्बुवान भूगोलले अहिले बहुलबादी समाजको रूप लिइसकेको छ। लिम्बुवानको राजनीति बहुलवादी समाजमा आधारित बन्न नसकेकाले पनि लिम्बुवान भनेको ‘जातीय प्रदेश’ को माग भन्ने बुझाई छ। वीर नेम्वाङ भन्छन् ‘यो गलत हो, हिजो पनि लिम्बुवान बहुजातीय, बहुधार्मिक थियो आज पनि छ।’
वीर नेम्वाङले लिम्बुवानको समाज गहिरो रुपमा बुझेका छन् । २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय व्यवस्थाको पक्षको प्रचार गर्दै युवावस्थामा राजनीतिमा प्रवेश गरेका नेम्वाङ अहिले ६४ वर्ष पार गरिसकेका छन् । बहुदलको पराजयपछि उनी मातृभाषा शिक्षाको अभियानमा लागे । पञ्चायती व्यवस्थामा त्यो छुट पनि थिएन। मातृभाषा पठन पाठन गरे, गराएकै अभियोगमा पक्राउ गर्न ‘वारेन्ट’ जारी भएपछि उनी भूमिगत भए । भूमिगतकालमै २०४३ साल (सन् १९८६) मा उनले स्थापना गरेको ‘लिम्बुवान मुक्ति मोर्चा’ प्रादेशिक स्वायत्तताको माग गर्ने पहिलो क्षेत्रिय पार्टी मानिन्छ।
यसअघि लिम्बुवानको राजनैतिक, आर्थिक, भाषिक, सांस्कृतिक अधिकारको लागि एक राजनीतिक संगठन आवश्यक भएको ठान्दै नेम्वाङले २०४१ सालमा (सन् ८ जनवरी १९८४) पान्थर याम्बोङमा लिम्बुवान युवा संघर्ष समिति गठन गरेका थिए । उनका बारेमा नजिकबाट अध्ययन गरेका दिलेन्द्र कुरुम्बाङका अनुसार यो संगठनलाई भूमिगत रुपमा लिम्बुवानको विभिन्न ठाउँमा विस्तार गरियो। संगठनको गतिविधिका लागि भारतको सिक्किम र दार्जिलिङका समुदायबाट उनलाई राम्रो सहयोग भयो।
लिम्बुवान मुक्ति मोर्चाको पहिलो घोषणापत्र सन् १८ जनवरी १९८९ मा दार्जिलिङबाट जारी गरिएको हो। घोषणापत्रमा नेपाल सरकारसँग लिम्बुवान स्वायत्तताको माग गरिएको थियो। यसले नेपालको राजनीतिमा नयाँ तरंग ल्यायो भने भारत लगायत छिमेकी मुलुकहरूका लागि नेपालको राजनीति चासोको विषय बन्यो। घोषणापत्रको विरोधमा तत्कालै नेपालका पञ्च नेताहरूले प्रेस विज्ञप्ति निकालेर लिम्बुवान मुक्ति मोर्चाको भर्त्सना गरेको घटनाले त्यसको पुष्टि गरेको थियो।
वीर नेम्वाङलाई साथ सहयोग गर्न सन् १९८९ मा कालिम्पोङ पुदुङ बस्तिमा लिम्बुवान लिबरेसन फ्रन्ट एसोसिएट कमिटी इण्डिया गठन भयो। यसै विच भारत सरकारले लिम्बुवान मुक्ति मोर्चाको लिम्बुवान स्वायत्तताको मागलाई नैतिक समर्थन गर्ने र आवश्यक परे भौतिक सहयोग पनि गर्ने इच्छा जनाएको नेम्वाङ बताउँछन् । उनका अनुसार तर मोर्चाले नैतिक समर्थन मात्र लिने अडान राख्यो भने एसोसिएट कमिटीले भौतिक सहयोग समेत लिने अडान लियो। यस सम्बन्धमा मतभेद भइ कुनै निष्कर्षमा पुग्न नसकिएकोले भारत सरकारबाट कुनै पनि साथ र समर्थन पाउन सकेन। मोर्चाको लिम्बुवान स्वायत्तताको माग सम्बन्धमा भारतीय सञ्चार माध्यमहरूले राम्रै स्पेश दिएका थिए तर नेपाली मिडियाहरूले यसलाई विखण्डनवादी भएको आरोप लगाए।
देशान्तर साप्ताहिकले २०४६ मा लिम्बुवान मुक्ति मोर्चा पूर्व लिम्बुवान टुक्राएर अलग प्रदेश बनाउन सकृय रहेको समाचार धारावाहिक रुपमा प्रकाशित गरेपछि नेपालको राजनीतिमा हैलाखैला मच्चियो। पूर्व सञ्चार मन्त्री जयप्रकाश आनन्द त्यस बेला देशान्तरका रिपोर्टर थिए । उक्त समाचारको सकारात्मक र नकारात्मक पक्षमा विज्ञप्तिहरू निस्कन थाले। त्यस बेला काठमाडौँमा अध्ययनरत युवा विद्यार्थीहरूले लिम्बुवान मुक्ति मोर्चा सहयोग समिति उपत्यका गठन सहित मोर्चाको समर्थनमा अपिल समेत प्रकाशित गरे। दिलेन्द्र कुरुम्बाङका अनुसार समितिमा धेरै बहस र छलफल भएपनि अन्तत: लिम्बु समुदायको साझा सवाललाई अघि बढाउन किरात याक्थुङ चुम्लुङ गठन भएको हो।
वीर नेम्बाङ भारत निर्वासनमै रहेको बेला २०४६ सालको जनआन्दोलनको पक्षमा मोर्चाले समर्थन जनायो। प्रजातन्त्र पुनःस्थापना भएपछि बनेको अन्तरिम सरकारले सम्पूर्ण राजबन्दी, भूमिगत र निर्वासनमा रहेको नेता कार्यकर्ताहरूलाई आममाफी दियो। तर वीर नेम्बाङलाई भने दिइएन। उनी भूमिगत नै रहनु पर्ने अवस्था भयो। बहुदलीय व्यवस्थाको पहिलो आम निर्वाचनलाई मोर्चाले बहिष्कार गर्ने निर्णय गर्यो। तर्सिएको अन्तरिम सरकारले भूमिगत रहेका वीर नेम्बाङलाई सन् १९ अप्रिल १९९१ मा इलाम एकाताप्पाबाट गिरफ्तार गरि इलाम जेलमा नजरबन्दमा गरियो।
हजारौँको सङ्ख्यामा इलाम, पाँचथर, झापाबाट इलाम पुगेको लिम्बुवान पक्षधरहरुले दुई दिन प्रदर्शन गरेपछि नेम्वाङलाई रिहा गरियो। त्यसपछि अर्धभूमिगत रुपमा राजनैतिक गतिविधिमा क्रियाशील नेम्वाङको मोर्चाले संविधानसभाको चुनावमा भाग लिने निर्णय गर्यो। तर मोर्चाका उम्मेदवार निर्वाचित भएनन्। दोश्रो संविधानसभामा पनि लिम्बुवानजन्य पार्टीहरूको प्रतिनिधित्व नभएपछि बृहत् लिम्बुवान एकताको पहल शुरु भयो। २०७१ साउन २१ गते धनकुटाको भेडेटारमा वीर नेम्बाङ नेतृत्वको लिम्बुवान मुक्ति मोर्चा सहित ५ दलको एकता हुँदा उहाँलाई सर्वमान्य नेता बनाइयो। भेडेटारमा सम्पन्न लिम्बुवान एकता २ वर्ष नपुग्दै छिन्नभिन्न भएपछि लिम्बुवानको राजनीति ओझेलमा परेको वीर नेम्बाङको भनाई छ।
श्रोत: आइएनएस(स्वतन्त्र समाचार)

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया