सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

मकवानपुरमा बसको ठक्करबाट रिक्सा चालकको मृत्यु

प्रतिकात्‍मक तस्‍बिर ।

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ मा गएराती बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ । रिक्सामा सवार एक जना गम्भीर घाइते भएका छन् ।

रिक्सा चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ वर्षीय मिलन सुनारको उपचारको क्रममा चुरेहिल अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो । 

घाइते भएका रिक्सामै सवार हेटौडा उपमहानगरपालिका–१२ का सुवास सुनारको हेटौडा अस्पतालमा उपचार भइरहेको छ । 

पूर्व–पश्चिम राजमार्गमा पथलैयातर्फ जादै गरेको प्रदेश२–०३–००१ख ०२४२ नम्बरको बसले सुनार द्धय सवार ना२अ ६४ नम्बरको अटो रिक्सालाई गएराति २ बजे ठक्कर दिएको थियो । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।