सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

प्रशारण लाइनमा माइला चढेपछि भारतबाट ल्याइयो बिजुली

काठमाडौं– नुवाकोटको ककनीस्थित त्रिशुली थ्री ए को प्रशारण लाइनमा हिँडिरहेका व्यक्तिको उद्धार नभएपछि त्यहाँको विद्युत आपुर्ति अझै खुलाउन सकिएको छैन । करिब ८ घण्टादेखि लाइनमा हिँडिरहेका नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक हिँडेका कारण अहिले विद्युत प्रवाहमा समस्या उत्पन्न भएको हो ।

उनी विद्युत प्रशारण लाइनमा भएकाले अहिले ७० मेगावाट विद्युत प्रशारण अवरुद्ध छ । यो मेन हाइटेन्सन लाइन हो । यहीबाट काठमाडौं र भारतसम्म विजुली पठाइन्छ । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्रशारण अवरुद्ध हुँदा अहिले भारतबाट बिजुली ल्याइएको बताए ।

माथिल्लो त्रिशूली थ्री ए र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको छ । उनको उद्धारका लागि सेना परिचालन गरिने तयारी गरिएको छ । उनी विद्युतको पोलमा चढेदेखि नै तल ओर्लन स्थानीय र प्रहरीले फकाएका थिए । तर, उनले नमानेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी रुपक खड्काले बताए ।

‘उनी ओर्लन मानेका छैनन्,’ उनले भने, ‘उद्धारका लागि जाँदा उनी झन तारै तार भाग्छन् ।’ अहिले उद्धारका लागि सेनासँग समन्वय गरिरहेको उनले बताए ।