सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

६ घण्टादेखि त्रिशुलीको विद्युत प्रशारण लाइनमा चढेका माइला : तल झर्न खाेज्छन्, फेरि उक्लिन्छन्

नुवाकोट-  बिहान १० बजे नुवाकोटको ककनीस्थित बिजुली प्रशारण लाइनको टावरमा एक व्यक्ति चढे । टावर हुँदै उनी तारसम्म पुगे । अनि तारमा हिँड्न थाले ।
उनी तारमा हिँड्न थालेको ६ घण्टा बितिसक्यो । तर, अझै तल झरेका छैनन् । उनको मूर्खता र अटेर स्वभावले स्थानीय र प्रहरीलाई हैरानी भइरहेको छ ।

उनी हुन् बेलकोट नगरपालिका–१३ का माइला विक । उनी ककनीको माथिल्लो त्रिशुली मातातीर्थ प्रशारण लाइनमा चढेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी रुपक खड्काले जानकारी दिए । ‘उनलाई तल झार्न अनेकौं कोशिस गरियो, तर मान्नुभएको छैन,’ डिएसपी खड्काले इकागजसँग भने, ‘हामीलाई पनि निकै समस्या भइरहेको छ, जति फकाए पनि मान्नुभएको छैन ।’

उनी तारमा चढेपछि अहिले विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाहसमेत रोकिएको छ । माइलालाई प्रहरी र स्थानीयले फकाइरहेका छन् । ‘उहाँ तल झर्न खोजेको जस्तै गर्नुहुन्छ, फेरि माथि चढ्नुहुन्छ’ उनले भने, ‘माथि तल गर्ने क्रम रोकिएको छैन ।’ 

'उनलाई तारबाट तल झार्न कोशिस गरिरहेका छौं' उनले भने, ‘मानसिक सन्तुलन गुमेको व्यक्ति भन्ने बुझेका छौं, त्यसैले पनि सम्झाउन थप समस्या भएको छ ।’

उनी किन यसरी तारमा चढेका हुन् भन्नेबारे अझै नखुलेको प्रहरीले जनाएको छ ।